काठमाडाैं - भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन्। उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो।
रेग्मीका अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन्। शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले बताए। सो परिवारले नारायणगढमा फलफूल बिक्री गर्ने गरेको थियो।रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४