जनकपुरधाम – आइतबार राती एक्कासी आएको हावाहुरीबाट बारा र पर्सा गरी २७ जनाको मृत्यु भएको छ भने करिब पाँच सय सर्वसाधारण घाइते भएका छन्। भीषण हावाहुरीका कारण सयौं परिवार घरबारबिहीन भएका छन्। हावाहुरीले घर उडाएर लगेपछि तिनै भग्नावशेष अगाडी दिन रात बिताउन बाध्य छन्, पीडितहरु।
खाने लाउने समस्या झेलिरहेका उनीहरुले आवश्यक्ताअनुसार राहत पाउन सकेका छैनन्। विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेपनि राहत तथा पीडितहरुको पुर्नस्थापनामा समस्या देखिएको छ।
यता हावाहुरीले निम्त्याएको विपद्पछि बारा र पर्सामा ‘भीआइपी’ पुग्ने ओइरो लागेको छ। आइतबार घटनाभएपछि सोमबार र मंगलबार गरी एक दर्जनभन्दा बढी ‘भीआइपी’ तथा नेताहरु बारा र पर्सा पुगेका छन्। हावाहुरीबाट भएको क्षतिबारे बुझ्न तथा पीडितहरुलाई भेट्न उनीहरु प्रभावित क्षेत्र पुगेका हुन्।
पछिल्लो दुई दिनमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रिमण्डलका सदस्यहरु, राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, जनमत पार्टीका संयोजक सीके राउत, राप्रपा अध्यक्ष कमल थापा लगायतका दर्जनौं नेता बारा र पर्सा पुगेका छन्।
आफ्नै मुलुकको कुनै जिल्ला र त्यहाँका सर्वसाधारणले विपद्को सामना गरिरहँदा नेतृत्ववर्ग पुग्नु स्वभाविक पनि हो। प्रभावित क्षेत्र पुगेका नेताहरुले पीडितहरुलाई राहतस्वरुप आर्थिक सहयोग गर्ने घोषणा पनि नगरेका होइनन्। नेकपा अध्यक्ष प्रचण्डले मृतक परिवारलाई जनही ५ लाख, कांग्रेस सभापति देउवाले २५ लाख, कांग्रेस उपसभापति निधिले १० लाख आर्थिक सहयोगको घोषणा गरेका छन्।
तर, ‘भीआइपी’ को अधिकतम आवतजावत भएपछि पीडितहरुलाई राहत पुर्याउने काममा कठिनाई उत्पत्र भएको छ। ‘भीआइपी’ आउने क्रम बढेपछि प्रशासनिक अधिकारीदेखि सुरक्षा सयन्त्र व्यस्त हुनुका साथै प्रभावित क्षेत्रमा सडक ‘जाम’ हुनेसम्मको समस्या देखिएको स्थानीयहरु बताउँछन्। सडक व्यस्तभएपछि पीडितसम्म राहत सामाग्री पुर्याउने कामसमेत प्रभावित भएको बताइएको छ।
वीरगंजका पत्रकार महेश दास ‘भीआइपी’ को आगमनबाट फाइदाभन्दा बढी समस्या देखिएको बताउँछन्। ‘पछिल्लो दुई दिनमा ठुलठुला नेताहरु आउने क्रम बढेको छ,’ उनले भने, ‘तर, उहाँहरु आउँदा फाइदा होइन उल्टै समस्या थपिएजस्तो मलाई लागेको छ।’
‘भीआइपी’ आउँदा प्रमुख जिल्ला अधिकारीदेखि सुरक्षा निकायका प्रमुखहरु उहाँहरुकै स्वागतमा व्यस्त देखिनु भएको छ,’ दासले भने, ‘प्रमुख जिल्ला अधिकारीदेखि सुरक्षा निकायका प्रमुखहरु आगतस्वागतमा व्यस्त भएपछि पीडितहरुको तथ्यांक संकलनसमेत राम्ररी हुन सकेको छैन।’ प्रभावकारी ढंगबाट तथ्यांक संकलन हुन नसक्दा पीडितहरुले राहत सामग्री पाउन नसकेको उनको भनाइ छ।
यता बाराका प्रमुख जिल्ला अधिकारी सानुराम भट्टराईले भने ‘भीआइपी’ आउँदैमा आफूहरुलाई कुनै समस्या नपरेको बताएका छन्। ‘उहाँहरु आउँदा खासै अप्ठारो परेको छैन,’ भट्टराईले भने, ‘भीआइपी’ सुरक्षाका लागि छुट्टै सयन्त्र खटिएका छन्। र, राहत कार्यका लागि हाम्रो अलग्गै सयन्त्र छ। साह्रै समस्या परेजस्तो लागेको छैन।’
‘हावाहुरीका कारण विपद् परेकोबेला उहाँहरु आउनु, निरीक्षण र अवलोकन गर्नु स्वभाविकै हो,’ प्रमुख जिल्ला अधिकारी भट्टराई भन्छन्, ‘निरीक्षण र अवलोकन गर्न आउँदा उहाँहरुले सहयोगको घोषणा पनि गर्नु भएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४