मंगलबार, साउन १९, २०८३

‘खुला आकाशमुनि कतिन्जेल रात बिताउने ?’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – दैनिकी सकाएर आइतबार राति बारावासी आआफ्ना घरमा आराम गरिरहेका थिए। खाना खाएर कोही सुतिसकेका थिए भने कोही सुत्ने तरखरमा थिए। घरबार नै बर्बाद पार्ने गरी हावाहुरीले बितण्डा मचाउने कसैले सोचेका पनि थिएनन्।

तर राति एक्कासि आएको भीषण हावाहुरीले झन्डै पाँच मिनेटसम्म मचाएको ताण्डवले कतिपय कलिला बालबालिकालाई टुहुरो बनाएको छ भने कतिपयले आफ्ना सन्तान गुमाएका छन्। हावाहुरीको कहरबाट घाइते भएकाहरुको कलैया र वीरगन्जका अस्पतालमा उपचार भइरहेको छ। घरबारका लागि चिन्तामा छन् उनीहरु। तीव्र गतिमा आएको हावाहुरीमा ज्यान जोगिए पनि परिवारका सदस्यलाई बैगुनी दुर्घटनाले निलिसकेको चिन्तामा छन्, अस्पतालमा उपचार गराइरहेका घाइतेहरु।

असिनापानीसँगै आएको हावाहुरीले फेटा, सुवर्ण, प्रसौनी गाउँपालिका गढीमाई नगरपालिकाका कतिपय वडाका अधिकांश परिवारलाई ओत लाग्ने ठाउँसमेत छोडेको छैन। हावाहुरीको सबैभन्दा बढी कहर देखिएको छ बाराको फेटा गाउँपालिकामा। फेटामा मात्रै १४ जनाले ज्यान गुमाइसकेका छन्।

ओत लाग्ने ठाउँ नहुँदा खुला आकाशमुनि रात बिताउन बाध्य छन्, हावाहुरीका पीडित। हावाहुरीले वितण्डा मच्चाएर घरबारविहीन भइसकेको दुई दिन बितिसक्दासमेत सरकारी राहत उनीहरुसम्म अझै पुग्न सकेको छैन। सरकारले केही थान त्रिपाल पठाए पनि सुवर्ण गाउँपालिकाका पीडितले त्रिपाल पाउन सकेका छैनन्। सामान्य त्रिपाल पनि पाउन नसकेपछि आफ्नै घरको भग्नावेशष अगाडि दिन रात बिताउन बाध्य छन्, सुवर्ण गाउँपालिका पीडितहरु।

झन्डै ६/७ सय घरधुरी प्रभावित रहेको सुवर्ण गाउँपालिकाका पीडितहरु अझ कति दिन खुला आकाशमुनि रात बिताउनुपर्ने भन्दै सरकारलाई प्रश्न गर्न थालेका छन्।
‘घरबार हावाहुरीले खाइसक्यो, अब त बस्ने ठाउँ पनि रहेन,’ सुवर्ण गाउँपालिकाकी नसिमा भन्छिन्, ‘अझै कति दिन आकाशमुनि बस्नुपर्ने थाहा भएन्। नेताहरु आउँछन्, जान्छन्, कसैले केही गरेको जस्तो लागेको छैन।’

नसिमा जस्तै त्यहाँका अधिकांश सर्वसाधारण यस्तै पीडा भोगिरहेका छन्। जेनतेन दिन कटे पनि रात काट्न मुस्किल परेको छ, उनीहरुलाई। खुला आकाशमुनि दिनरात काटिरहेका उनीहरुलाई कमेसकम एउटा त्रिपालको व्यवस्था भइदिए हुन्थ्यो जस्तो लागेको छ।

'गाउँपालिकाले खानपानको व्यवस्था त गरिदिएको छ तर रात गुजार्न सकस भएको छ', हमिम अन्सारीले भने, ‘न बस्ने ठाउँ छ, न सुत्ने, अब हामी कता जाऊँ।’
दातृ संस्थाहरुबाट आएको राहत सामग्रीहरु बाराको फेटामै केन्द्रित भएको आइतबार रातिदेखि राहत र उद्धार कार्यमा खटेका विनोद महतो बताउँछन्। ‘यहाँका झन्डै ६/७ सय घरवार प्रभावित छन्। तर सरकारी राहत आएको छैन,’ महतोले भने, ‘सरकारले पठाएको त्रिपालसमेत यहाँ पुग्न सकेको छैन।’

गाउँपालिकाले दुई छाक खाने व्यवस्था गरिदिएको भन्दै महतोले स्थानीय तहको सहयोगबाहेक पीडितले अरु केही पाउन नसकेको बताए। ‘गाउँपालिकाले आफ्नो प्रयासबाट तीन ठाउँमा मेस सञ्चालन गरिदिएको छ, घरबारविहीन भएकाहरुको खानपिन त्यहीँ भइरहेको छ,’ महतोले भने।

आइबार राती अचानक आएको हावाहुरीका कारण बारामा २७ जनाको ज्यान गइसकेको छ भने झन्डै पाँच सय घाइते भएका छन्। तीव्र गतिको हावाहुरीबाट सयकडौं परिवार घरबारविहीन भएका छन्। ठुलो विपद् झेलिरहेको बारामा भने सरकारी राहत कार्यले भने तीव्रता पाउन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।