काठमाडौँ- काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ ।
उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो ।
करिडोर सञ्चालन गर्ने विषयमा यातायात व्यवसायी, सरकारी र गैरसरकारी निकायबीच छलफल भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको ट्राफिक जामलाई कम गर्न तत्काल करिडोर खोल्ने विषयमा गम्भीर छलफल थालिएको जानकारी दिए । करिडोर खोल्न अत्यन्त आवाश्यक भएकोमा उनले जोड दिए । करिडोरले उपत्यकाको ट्राफिक सुधारमा करिडोर निर्माणले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तीन महीने कार्ययोजनासमेत तयार पारेको छ । महाशाखाले बालकुमारी पुलमुनि, गोपीकृष्ण पुलमुनि, रातोपुलमुनि, सेतोपुलमुनि, कालोपुलमुनि र भत्केको पुलमुनिको करिडोर तत्काल निर्माण गर्नुपर्ने बताएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका धेरै स्थानमा करिडोर निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउँछन् । “करिडोर निर्माणसँगै उपत्यकामा हुने ट्राफिक जाम धेरै घट्छ”, उनले भने । पुल निर्माणसँगै उपत्यकामा हुने सवारी दुर्घटनामा समेत कमी आउने उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख बढी सवारीसाधन सञ्चालनमा रहेका छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारीसाधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् । उक्त सवारीसाधनलाई व्यवस्थापन गर्न उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति खटिँदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४