धनगढी- कैलाली प्रहरी प्रमुख भएर आएदेखि नै प्रहरी उपरीक्षक आभूषण तिम्सिना चर्चामा छन् ।
शान्तिसुरक्षा कायम गर्न, तस्करी नियन्त्रण गर्न तिम्सिना सक्रिय बनेको भनेर धेरैले उनको प्रशंसा गर्छन् । सँगसँगै सुरक्षा रणनीतिका नाममा अनावश्यक दुःख दिने गरेको भनेर पनि उनको आलोचना भइरहेको छ । पछिल्लो समय एउटा घटनाले भने उनको वास्तविक चरित्र उदांगो पारेको छ । भारतमा चोरी गरेर ल्याएको १३ लाख रकममा र्याल काढेको आरोप उनीमाथि लागेको छ ।
के हो घटना ?
केही दिनपहिले बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ वर्षीय निरज चन्दलाई २३ लाख रुपैयाँसहित अत्तरिया प्रहरीले पक्राउ गर्यो । महेन्द्रनगरमा भारतीय नोट सटही गर्ने क्रममा देख्नेहरुले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरियो । कैलाली प्रहरीले उनलाई तीन दिनसम्म हिरासतमा राखेर चिन्दैनचिनेको मान्छेको जिम्मा लगाएर छोडिदियो । लगत्तै चन्द बैतडी घर पुगे । त्यसको केही दिनपछि भारतमा जसको घरमा चोरी भएको हो ।
उनका भतिजा नाता पर्ने कुलदीप शर्मा काठमाडाैं पुगेर निरजको ठेगाना पत्ता लगाएर देव चन्दलाई फोन गरेर पैसा चोरी भएको जानकारी गराए । पैसा चोरी भएको घर राजस्थानस्थित त्यहाँको प्रान्तको अर्थमन्त्रीको हो । देव चन्द निरजका मावलीतर्फका दाइ हुन् । चोरीको रकमबारे पत्ता लगाउन नेपाल आएका कुलदीप देवकै सल्लाहमा बैतडीस्थित निरजको घरमा पुगे । निरजसँग सोधपुछ गर्दा उनीसँग नौ लाख नेपाली रकम मात्र भेटियो ।
पूरै रकम नभेटिएपछि प्रहरीलाई खबर गरेर निरजलाई जिल्ला प्रहरी कार्यालय बैतडी लगियो । चोरी गरेको बाँकी रकम १३ लाखबारे कैलाली प्रहरी प्रमुख तिम्सिनासँग भएको बयान निरजले दिएपछि कैलाली प्रहरीले उक्त चोरीको रकममा र्याल काढेको तथ्य खुलेको हो ।
के गर्यो कैलाली प्रहरीले ?
घटनामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका देव चन्दका अनुसार प्रहरीले निरजलाई पक्राउ गरेको जानकारी तीन दिनसम्म दिएन । तेस्रो दिन बिहान निरजका बुबा मदन चन्दलाई फोन गरेर २३ लाख रकमसहित पक्राउ परेको जानकारी दियो । मदनले आफू एक दिन ढिलो मात्र धनगढी पुग्न सक्ने भएकाले निरजलाई आफू नआउँदासम्म नछोड्न प्रहरीलाई भने । तर प्रहरीले भने निरजलाई त्यसको केही समयमै नक्कली आफन्त खडा गरेर धनगढीकै रोशन सिंहको जिम्मा दिएर छोड्यो । तर निरजले रोशनलाई चिन्दै चिन्दैनन् ।
प्रहरीले निरजले २३ लाख रुपैयाँ बुझेर लगेको भर्पाई गरायो । चिन्दै नचिनेका रोशनलाई नक्कली अभिभावक खडा गरेर प्रहरीले उनैमार्फत निरजबाट १३ लाख दिएपछि सबै कुरा मिलाइदिन्छु भन्न लगायो । केही रकम आफूले पाएर छुट्ने भएपछि निरज १३ लाख दिन राजी भए । प्रहरीबाट निरजलाई बुझेर रोशनले मोटरसाइकलमा राखी एक कोठामा लगेर १३ लाख लगेर उनलाई बसपार्क छोडिदिए ।
'घरबाट बुबाले कसैको जिम्मा नछोड्नु भन्दा भन्दै पनि नचिनेको मान्छेलाई आफन्त बनाएर छोड्नु र १३ लाख रकम पनि लग्नुले एसपी तिम्सिनाको रकम पचाउने योजना स्पस्टै देखियो', देवले भने । भारतबाट चोरी गरेको रकम भएकाले सोधीखोजी नहोला भनेर एसपीले रकम हजम गर्न खोजेको उनले बताए । 'भाइले भारतमा चोरी गरेर ल्याएको हो ऊ त चोर भइहाल्यो तर प्रहरी नै चोरमाथि चण्डाल लागेर १३ लाख खायो त्यसको सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो', देवले भने ।
सुरुमा रकमबारे आफूलाई थाहा नभएको बताउने एसपीले आफूहरुले निरजबाट रकम चोरी गर्नेका नाममा गृह मन्त्रालय र दूतावासमा उजुरी दिन्छु भनेर हिँडेपछि २० मिनेटपछि १३ लाख रकम अत्तरियाको सालको रुख नजिक गाडेको अवस्थामा फेला परेको छ लिन आउनु भनेर बोलाएको देवले जानकारी दिए । यो कुरा आइतबारको हो । त्यसपछि प्रदेश प्रहरी प्रमुख डिआइजी कार्यालयमा छलफल भएको थियो । त्यहाँ पुगेका भारतीय नागरिक कुलदीपलाई तपाईंको पैसा भेटिएको छ लगेर जानु भनिए पनि उनी रकम नबुझेर नै काठमाडाैं फर्किएका छन् ।
भारतीय दूतावाससँग सम्बन्धित रहेर कानुन व्यवसायीको काम गर्दै आएका कुलदीपले भारतीय दूतावासबाट रकम चोरी गरेको बारेमा पत्रसमेत सँगै बोकेर आएका थिए । निरज अहिले कैलाली प्रहरीको हिरासतमा छन् । प्रहरीले १३ लाख रकम खान खोजेको बारेमा कुरा बाहिर आएपछि प्रहरी अधिकारीहरु तनावमा छन् । अहिले प्रहरी अधिकारीहरु घटना मिलाउनमा सक्रिय भएका छन् ।
नक्कली अभिभावक बनेका रोशनले भने आफूले पाँच दिन सम्म १३ लाख रुपैँया आफैसँग राखेको र पछि सोधिखोजी हुँदा प्रहरीलाई बुझाएको स्वीकारेका छन् । एसपी तिम्सिनाले भने घट्ना बारे मंगलबार सम्म सबै कुरा प्रेस बिज्ञप्तिमार्फत सार्वजनिक गरिने र अहिले केहि नबोल्ने प्रतिक्रिया दिए ।
भारतबाट धनमाल चोरी गरेर नेपाल पक्रिनेको हकमा नेपालमा मुद्दा चलाउन पाईदैन भने सम्बन्धित व्यक्तिलाई पनि भारत बुझाउन पाउने कानुनी व्यवस्था छैन । भारतमा चोरी भएको धनमाल बैधानिक नै हो भने मालिकले दुतावास वा सीधै सुरक्षाकर्मीमार्फत सोधिखोजी गर्दछ यदि अबैध धनमाल हो भने सोधीखोजी हुँदैन । नेपाल प्रहरीले भारतबाट चोरी गरेर नेपाल भित्रिएको धनमालमा निकै चासो दिने र बरामद भएको धनमाल डर धम्की देखाएर आफूले पचाउने गरेको व्यापक चर्चा हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४