मंगलबार, साउन १९, २०८३

'आँधी आए तराईमा पहाडले छेक्नुपर्छ' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ 
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ 
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र 
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ 

गीतकार दिनेश अधिकारीले लेख्नुभएको र गायक स्वरुपराज आचार्यले गाएको यो गीतले भने जस्तै भएको छ यतिखेर बारा र पर्साको अवस्था। प्राकृतिक विपत्ले क्षणभरमै बस्ती सखाप पार्ला भन्ने कल्पनासमेत गरेका थिएनन् महागढीमाई, पचरौता, प्रसौनी, फेटा, सुवर्ण र परवानीपुरका बासिन्दाले।

चैतको धूपमा साँझ चिसिँदै थियो। स्थानीयवासी आफ्नै धुनमा थिए। एकाएक विपद् आइलाग्यो र २७ जनालाई ठाउँको ठाउँ टिपेर लग्यो भने ६०० बढी घाइते भए। घरबास उड्यो, अन्नपात हुरीले उडायो।

विद्युत्का पोल ढलेका छन्। पोल नै नभएपछि विद्युत् सेवा आउने कुरै भएन। टेलिफोनका तार चुँडेका छन्, सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ। के खाने र के लाउने भन्ने चिन्तामा परेका स्थानीयवासीलाई तत्काल राहतको जरुरी देखिएको छ। खाना पकाइरहेका गृहणी, दूधे बालक, वृद्धवृद्धा भगवान्को पुकारा गर्दै ज्यान जोगाउन लागे। कोही ज्यान जोगाउन खोज्दाखोज्दै मृत्युको मुखमा परे। पशुचौपाया थलोमै किचिएर मरे। क्षणभरमै बस्ती सखाप भयो। बस्तीमा न त घर रह्यो नत अन्नबाली नै। हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ।

चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो। तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनाश गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन्। बारा र पर्सामा परेको पीडामा मल्हम लगाउन सरकारी निकाय तथा राजनीतिक दलका कार्यकर्ता राहत तथा उद्धारमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले विपद् परेको क्षेत्र र घाइतेको स्वास्थ्य उपचारको स्थलगत निरीक्षण गरेका छन्। 

प्रदेश नं २ सरकारले पीडित परिवारका लागि रु तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलले सङ्घीय संसद्को एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राहत तथा उद्धार कार्यमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

गोरखा भूकम्पले पहाडी क्षेत्रमा समस्या पर्दा तराईका नागरिकले खुला हृदयले सहयोग गरेका थिए। यतिखेर बारा पर्सामा प्राकृतिक विपद् आइपर्दा सिङ्गो मुलुक एकजुट भएर सहयोग गर्नुपर्ने अवस्था आइपरेको छ। उद्धार कार्यमा नेकपा निकटको अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का नेता तथा कार्यकर्ता चिकित्सको टोली लिएर हावा हुरी प्रभावित क्षेत्रमा पुगेको छ।

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार हावाहुरी प्रभावित क्षेत्रमा तत्काल मानवीय सहयोग जरुरी रहेको भन्दै त्यसका लागि सबैले सहयोग गर्नुपर्ने देखिएको छ। सापकोटाको नेतृत्वमा रहेको टोलीले राहत तथा उद्धार कार्यमा खटेको छ। राहतमा आउने टोलीलाई खाद्यान्न, लत्ताकपडा, त्रिपाल लिएर आउनसमेत सापकोटाले सुझाव दिए।

यस्तै आइतबार राति नै हावाहुरी प्रभावित क्षेत्रमा पुग्नुभएका अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले पनि राहत तथा उद्धार सामग्री लिएर आउन आग्रह गरेका छन्। 'कसैका घर छैनन्, अन्न पनि छैन। ठूलो विपत्ती आइपरेको छ, यस्तो अवस्थामा राहत सामग्रीसहित लिएर आउन र विपत्तीमा परेका नागरिकलाई सहयोग गर्न जरुरी देखिएको छ', पुनले भने।

राष्ट्रिय जनता पार्टीले हावा हुरी प्रभावितलाई रु पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

देशभरबाट हुरी प्रभावित क्षेत्रका जनतालाई राहत जुट्नेक्रमसमेत सुरु भएको छ। तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षककोतर्फबाट एक दिन बराबरको तलब भत्ता गरी रु चार लाख रकम मुख्यमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले हावाहुरी पीडितलाई रु ५० लाख बरावरको सहयोग गर्ने निर्णय गरेको छ। यस्तै नेपाल चेम्बर अफ कमर्सले पनि त्रिपाल लगायत खाद्यान्न लिएर मङ्गलबार टोली बारा पर्सा पठाउने भएको छ। 

हावाहुरीका कारण बालबालिका, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। उनीहरु आइतबार रातिदेखि खुला आकाशमुनि बसेका छन्। उनीहरुलाई न्यानो प्रदान गर्नु सबैको दायित्व भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पनि प्रयास गरिरहेको छ। प्रधानमन्त्री ओलीले आज घाइतेसँग भेटगरी सरकारले उचित उपचारको प्रबन्ध गर्ने बताए।

घाइतेको उपचारमा समस्या नहोस् भनेर देशभर नै स्वतःस्फूर्तरुपमा रक्तदानको आयोजना गरिएको छ।

पीडितलाई नाना र खानाको व्यवस्था गर्नु अत्यावश्यक देखिएको छ। सरकारको एकल प्रयासले मात्रै विपद्मा परेका नागरिकलाई राहत दिन सहज नहुने भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु जरुरी रहेको छ।

सामाजिक सञ्जालमा समेत बारा र पर्साका नागरिकलाई स्वच्छ मनले सहयोग गर्न र राहत उपलब्ध गराउन आग्रह गरिएको छ। स्थानीयवासी कसरी यस्तो घटना भयो भनेर पीडामा छन्। पीडामा परेका उनीहरुलाई मल्हम लगाउन कुनै पनि कञ्जुस्याइँ गर्न नहुने उद्धारमा सक्रियले बताएका छन्। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।