जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ ले बारा र पर्साको हावाहुरी प्रभावितहरुलाई १० लाख नगद सहयोग गर्ने घोषणा गरेको छ। हावाहुरीबाट भएको धनजनको क्षतिबारे जानकारी लिन बारा पुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले यस्तो घोषणा गरेका हुन्।
भीषण हावाहुरीका कारण उत्पत्र परिस्थितिबारे जानकारी लिन कांग्रेस उपसभापति निधि काठमाडौंबाट सोमबार दिउँसो बारा पुगेका छन्। निधिले कलैया अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन्।
निधिसहित नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालगायतका नेताहरु प्रभावित क्षेत्र बाराका पुरैनिया, फुलबरिया, भलुइ, भरवलिया, धर्मनगरलगायतका गाउँ पुगेर पीडित परिवारसँग भेटघाट गरेका छन्।
यसैगरी हावाहुरीका कारण भएको क्षतिबारे जानकारी लिन र पीडित परिवारसँग भेट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली (मंगलबार) आउने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४