काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन्। गृह जिल्ला झापाबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टर मार्फत सिमरा विमानस्थल पुगेका छन्।
प्रभावित क्षेत्र निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन्। उनले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिएका छन्। प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिएका थिए।
उनले झापामा तय भएका सोमबार निर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर प्रभावित क्षेत्र पुगेका हुन्।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत प्रभावित क्षेत्र पुगेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४