भरतपुर – तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ। हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो।
चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए। चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने बस्नेतले बताए। अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
तराईका हावाहुरी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। भरतपुरको चौविसकोठीमा आज ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४