काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावित जिल्ला बारा जाने भएका छन् । गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा व्यस्त रहेका प्रधानमन्त्री ओली पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गर्दै हुरी प्रभावित क्षेत्र जान लागेका हुन् ।
झापाको चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जान लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिए । झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।
यसैबिच, गृहमन्त्री रामबहादुर थापाले उद्धार र राहतका लागि खटिन सबैसँग अपिल गरेका छन् । उनले उद्धारमा कुनै कसर बाँकी नराख्न अपिल पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सोमबार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
बारामा आइतबार राति आएको भीषण हावाहुरीमा परि ३५ जनाको मृत्यु हुनुका साथै ५ सय भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुले अस्पताल खचाखच भरिएपछि भुइमै राखेर उपचार गरिएको छ । केहिको अझै पनि उद्धार भइराखेको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर २ को सरकारले मृतक परिवारलाई जनही ३ लाख दिने घोषणा गरेको छ भने घाइतेको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४