काठमाडौं – राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी अभियानको थालनी आइतबारबाट गरेको छ। अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडा र जनसंघर्ष परिचालन संयोजक वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले काठमाडौंमा आयोजित समारोहमा हस्ताक्षर गरी अभियानको थालनी गरेका हुन्।
राप्रपाले आइतबार ७७ वटै जिल्लामा हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर अभियान सञ्चालन गरेको छ। हिन्दु राष्ट्र कायम गरिनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि गोलमेच सम्मेलन हुनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राखी गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइ जनसंघर्ष कार्यक्रमको घोषणा गरेको थियो।
जनसंघर्ष अन्तर्गत नै राप्रपाले १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ। हेटौंडामा अभियानको शुभारम्भ गर्दै राप्रपा अध्यक्ष कमल थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिएका छन्। अध्यक्ष थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनैतिक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्ने समय आएको बताएका थिए।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थिरता तर्फ लैजान नसकेको चर्चा गर्दै अध्यक्ष थापाले संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको बताए। सरकारले यी मागहरु अबिलम्ब सम्बोधन गरी मुलुकलाई सही दिशा तर्फ लैजानु पर्नेमा अध्यक्ष थापाले जोड दिए।
थापाले हिन्दु राष्ट्रको पहिचान खोसेर धर्म निरपेक्षता लादिनु देशलाई द्वन्द तर्फ धकेल्ने षड्यन्त्र भएकाले यसलाई समयमै सम्बोधन गर्न र सम्भावित द्वन्दको चक्रव्युहमा नेपाललाई फस्नबाट रोक्न सरकारसँग माग समेत गरेका छन्। हस्ताक्षर अभियानका लागि राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, रुपन्देही उपाध्यक्ष प्रेमबहादुर भण्डारी र महामन्त्री धवल शमशेर राणा बाँके, महामन्त्री भाष्कर भद्रा काठमाडौंमा सहभागी भएका छन्।
यसैगरी पार्टीका नेताहरू आफ्नो आफ्नो जिल्लामा खटिएका छन्। राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ। जस अनुसार चैत्र १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, बैसाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर र प्लेकार्ड जलाउने तथा बैसाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४