काठमाडौं – ०७२ को भूकम्पपछि ललितपुरको बालकुमारीबाट सेवा सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) आइतबारदेखि कालिमाटी सरेको छ। ब्लड बैंकका सम्पूर्ण सेवा आइतबारदेखि रेडक्रसमार्गस्थित रेडक्रसको केन्द्रीय कार्यालय परिसरबाट सुरु गरिएको हो।
भूकम्पका कारण भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पुसदेखि आपत्कालीन सेवा केन्द्र ललितपुरको बालकुमारीबाट सेवा सञ्चालन हुँदै आएको थियो।
‘सेवाकेन्द्रबाट हुँदै आएका स्वयंसेवी रक्तदाताहरुबाट संकलन गरिएको रगतको परिक्षण र भण्डारन गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको कागज लिइआएका सेवाग्राहीलाई रगत उपलब्ध गराउने काम आइतबारदेखि नयाँ सेवा भवन कालिमाटीबाट सुरु भएको छ,’ नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए। देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि अबदेखि यहीँबाट सुचारु हुने उनले बताए।
रक्तसञ्चार सेवा केन्द्रका निर्देशक मनिताराज कर्णिकारले ललितपुरको बालकुमारीबाट सेवा दिन स्थान अभाव भएको, सेवाग्राहीलाई यातायातमा समस्या देखिएकाले थाई रेडक्रसको सहयोगमा निर्माण भएको कालिमाटीस्थित नयाँ भवनबाट सेवा सुरु गरिएको बताइन्।
भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्माणकार्य भइरहेको छ। अत्याधुनिक उक्त भवन निर्माण सम्पन्न भएपछि त्यहिँबाट सेवा सुरुहुने जानकारी नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले दिए। २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४