भैरहवा - नेपाली बजारमा दैनिक मागभन्दा १५ किलोग्राम सुन कमी भएको व्यवसायीले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको सोमबारदेखि रुपन्देहीमा सुरु हुने छैटौं वार्षिक साधरणसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष मोहन सुनारले मागभन्दा आपूर्ति कम हुँदा सुनचाँदी व्यवसायीले बारम्बार समस्या झेल्नुपरेको बताए।
कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले नेपाली बजारमा दैनिक ३५ केजी सुनको माग रहेकोमा राज्यले २० केजी मात्रै उपलब्ध गराउने गरेको बताए। उनले भने, ‘हामीलाई दैनिक ३५ केजी सुन आवश्यक हुन्छ तर सरकारले जम्मा २० केजी दिन्छ। खुला बजारको अर्थतन्त्रमा परिमाणात्मक बन्देज तत्काल हटाउनुपर्दछ। मागअनुसारको पूर्ति सरकारले गर्नुपर्दछ।’
वरिष्ठ उपाध्यक्ष शाक्यले माग र पूर्तिको ग्याप झिटीगुन्टाबाट जेनतेन भइरहेको बताए। उनले सरकारले झिटी गुन्टा भारीको प्राबधानमा गरेको व्यवस्था पनि अव्यावहारीक भएको बताए। विदेशबाट आउनेलाई ५० ग्रामसम्मका सुनका गरगहना झिटीगुन्टा भारी ऐनअनुसार ल्याउने व्यवस्था छ।
व्यवसायीहरुले ०५५ सालमा नेपालमा वार्षिक १५ हजार केजी सुन आयनत भएकोमा हाल जम्मा ६ हजार ५ सय केजी मात्रै आयत भइरहेको बताउँदै त्यसतर्फ सरकारको ध्यानकर्षणसमेत गराएका छन्। सुनचाँदी व्यवसायी संघ रुपन्देहीको आतिथ्यतामा हुने साधरणसभामा सुनचाँदी व्यवसायीको समस्याका विषयमा सरकारका मन्त्रीसँग छलफल गर्ने पनि रुपन्देही सुनचादी व्यवसायी संघका अध्यक्ष एमवी विश्कर्माले बताए।
व्यवसायीहरुले नेपालमा अन्तराष्ट्रिय मापदण्डको गुणस्तर चेक गर्ने व्यवस्था हरेक प्रदेशमा गर्न पनि सरकारसंग माग गरेका छन्। महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले भने, ‘हामी बहुमूल्य धातुको कारोबार गर्ने व्यवसायीहरु उपभोक्ताले तिरेको मूल्यअनुसार सुनचाँदीको उपभोग गर्न पाउनुपर्दछ भन्ने प्रतिबद्धतामा छौं।’
साधारणसभाका लागि देशभरका ६१ जिल्ला नगरमा रहेका सुनचाँदी व्यवसायी समितिबाट छानिएका ६ सय प्रतिनिधि आएको ५ नं प्रदेश संयोजक प्रेमकुमार सेन्चुरीले बताए। सेन्चुरीले भने, ‘साधारण सभाको सबै तयारी पूरा भइसकेको छ। साधरणसभाको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुहुनेछ। ’
सुनचाँदी व्यवसायीले सञ्चालन गरेको व्यवसायमा तीन लाख जनताले प्रत्यक्ष रुपमा रोजगारी पाएको, २० लाख जनसंख्या व्यवसायमा आश्रित रहेको महासंघका प्रवक्ता मनोजकुमार शाहले बताए। उनले भने, ‘हाम्रो व्यवसायमा २० हजार मात्रै कालिगढ छन्। तर विडम्बना ! तीमध्ये ७५ प्रतिशत विदेशी छन्। किनभने नेपालीहरु यो पेसामा त्यति रुचि राख्दैनन्।’
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार २०६९ साल फागुन २० गते विधिवत् दर्ता भई स्थापना भएको महासंघमार्फत वार्षिक ५० अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार गरी राजस्वमा वार्षिक ८ अर्बको योगदान दिइरहे पनि राज्यले हेर्ने दृष्टिकोण अझै पूर्णतया सकारात्मक नभएकोमा दुःख व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४