काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले नै आफूलाई अमेरिकामा थुनाउन खोजेको खुलासा गरेका छन् ।
आईतबार राजधानीमा आयोजित रिपोर्टस क्लवको २१ औ स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले कांग्रेसले अपराधी भनेर पक्राउ गर्न उजुरी दिएको खुलासा गरेका हुन् । उनले भने, 'हालै मेरो अमेरिका भ्रमणमा त्यहाँ रहेको नेपाली कांग्रेसको कमिटीले नै निर्णय गरेर मलाई अपराधी भनेर पक्राउ गर्न उजुरी गरेको जानकारी पाएँ ।'
उनले शान्ति सम्झौता गरेर मुलुकमा शान्ति स्थापना गर्ने व्यक्तिलाई विदेशी विदेशी शक्तिसँग गुहारेर कांग्रेसले आफ्नो अपमान गरेको बताए । उनले भने, शान्ति सम्झौता गर्नु अपराध थियो मेरो ? संघीय गणतन्त्र बनाउनु मेरो गल्ती थियो ?'
उनले भने, 'अमेरिकी सरकारले नो इन्भेस्टिगेसन नभनेको भए जे पनि हुने रहेछ ।' जहाँ मेरा विरुद्ध उजुरी हाले म त्यहीँ पुगेँ । त्यहाँको संसद्मा छलफल गर्ने अवसर पाएँ ।'
शान्ति सम्झौतामा हस्ताक्षरकर्तालाई अमेरिकामा पक्राउ गर्न भनेर उजुरी हाल्नु नाजायज रहेको बताउँदै उनले भने, 'कतिपय मानिसले प्रचण्ड डरायो भन्छन् । तर मलाई कुनै डर छैन । व्यक्ति रहने नरहने ठूलो कुरा होइन । नेपाल र नेपालीबीचको एकता, संघीय गणतन्त्र र समृद्धिको अभियान रहनुपर्छ ।'
उनले इतिहासको सच्चाइ के हो भन्ने कुरा पत्रकारले नै बहस गर्ने विषय रहेकाले आफूले यस विषयमा मैले केही भन्न नसक्ने स्पष्ट पारे । अध्यक्ष प्रचण्डले अझै पनि एक थरी मानिस अहिलेको प्रक्रिया उल्ट्याउन शक्ति सलबलाइरहेको भन्दै त्यसमा सचेत हुन सञ्चारमाध्यमलाई आग्रह गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४