काठमाडौं – नइ प्रकाशनले विभिन्न क्षेत्रका छ जनालाई २०७५ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ।
सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।
नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा अहोरात्र समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका लागि चन्द्रप्रकाश मैनालीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।
त्यसै गरी नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन विशिष्ट योगदानका निम्ति प्रा. डा. चूडामणि बन्धुलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।
नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित प्रा. डा. त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।
साढे सात दशकअघिदेखि चित्रकलामा अविछिन्न समर्पित रहँदै नेपालमा पहिलोपल्ट एकल चित्रकला समेत प्रदशर्नी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।
काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।
ताम्रपत्रका साथै यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेको नइ प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाई बताएकी छन्। अध्यक्ष प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट ‘नइ पुरस्कार’हरू प्रदान गरिने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४