जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नामाकारणसम्बन्धी प्रदेश सरकारले हालसम्म ल्याउन नसकेकोप्रति आपत्ति जनाएका छन्।
प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दापनि नामाकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्यपूर्ण रहेको निधिले बताएका छन्।
हलुवाई समाजको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार जनकपुरमा बोल्दै उपसभापति निधिले प्रदेश २ को नामाकरण मिथिला–भोजपुरा हुनुपर्ने धारणा राखेका छन्।
निधिले प्रदेश २ को आठ जिल्लाले मिथिलाई प्रतिनिधित्व गरेको र वीरगंज भोजपुरी भाषाभाषीको बाहुल्य क्षेत्र रहेकोले नामाकरणको सवालमा मिथिला–भोजपुरा उपयुक्त विकल्प रहेको स्पष्ट पारेका छन्।
आफ्नै पार्टीको नामबाट मधेश शब्द हटाइसकेको मधेश केन्द्रीत दलहरुले मधेश प्रदेशको अडान राख्नुको औचित्य नरहेको उनको भनाई थियो। ‘मधेश केन्द्रीत दल राजपा र फोरमले आफ्नै पार्टीको नामबाट मधेश हटाइसकेको छ। पार्टीको नामबाट मधेश हटाइ सकेकाले नामाकरणका लागि मधेशको अडान किन राख्नु पर्यो?’ निधिको प्रश्न थियो।
‘म मधेशको छु मलाइ गर्व छ। प्राचिन मिथिलाको हुनुमा झनै गौरवान्वित महसुस गर्छु,’ निधिले भने,‘मधेश भनेको पूर्व झापादेखि पश्चिम कञ्नपुरसम्मको भूभाग हो। यत्रो ठुलो भुभागलाई आठ जिल्लामा सीमित गरिनु हुँदैन।’ प्रदेश २ को आठ जिल्ला मिथिलाको प्राचिन संस्कृति, सभ्यता बोकेको र रौतहटदेखि पर्सासम्म भोजपुरी भाषभाषी रहेकोले नामाकरण मिथिला–मिथिला भोजपुरा र भाषा मैथिली–भोजपुरी हुनुपर्ने निधिले बताए।
निधिले पुरानो इतिहास बोकेको हलुवाइ जातिहरुको शैक्षिक, समाजिक, राजनीतिक अधिकारकालागि नेपाली कांग्रेस सधैं तयार रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४