भैरहवा – नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले विप्लप नेतृत्वको नेकपा माओवादीको सैद्धान्तिक आधार अत्यन्तै कमजोर भएको बताएका छन्।
भुसालले शनिबार भैरहवामा पत्रकारसँगको भेटघाटका क्रममा भने, ‘मैले अध्ययन गरेको कम्युनिस्ट साहित्य अनुसार विप्लप कमरेडको पार्टीको सैद्धान्तिक आधार अत्यन्तै कमजोर छ। त्यो सैद्धान्तिक बलमा एकिकृत क्रान्ति कहिल्यै सफल हुँदैन।’
रुपन्देही क्षेत्र नं. ३ का संघीय सभाका सदस्य समेत रहेका भुसालले विप्लपलाई दमन मात्रै गरेर समस्याको समाधान नहुँने बताए। उनले भने, ‘उक्त समूह बैंक लट्छ, चन्दा आतंक सृजना गर्छ वा यस्तै अन्य ध्वंशकारी गतिविधी गर्छ भने प्रहरी लगाउनु पर्दछ। होइन भने राजनीतिक मुद्दालाई वार्ता र छलफलको माध्यमबाट समाधान खोज्नु पर्छ।’
उनले विप्लपले अगुल्टो बोकेर उद्योगमा आगो लगाउँदै राष्ट्रिय पुजीको विकास गर्ने चिन्तन त्याग्नुपर्ने टिप्पणी गरे। उनले भने, ‘राष्ट्रिय पुजीको विकास जरुरी छ भन्ने अनि उद्योगमा आगो लगाएर हुन्छ?’
सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउनु ठीक भएको तर उनलाई ल्याउने प्रक्रिया भने गलत भएको भुसालको विश्लेषण छ। उनले भने ‘सिके राउत यसरी आउनु ठीकै हो। तर, बिखन्डनबादी चिन्तन भएको मान्छेसँग सरकारले सम्झौता गर्दा बृहत छलफल गर्नुपथ्र्यो। राष्ट्र जीवनको मुद्दामा एक दुई जनाले निर्णय गर्दा त्यसको कालान्तरमा नराम्रो असर पर्दछ। त्यो हुन सकेन जसले अहिले आलोचना खेप्नु परेको छ।’
नेपाल सरकारले आगमी जेठ १५ गते घोषणा गर्ने नयाँ आर्थिक बर्षको बजेटको पूर्व सन्ध्यामा आफ्नो निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं. ३ का स्थानीय सरकार, सामाजिक संघसंस्थासँग सुझाब संकलन तथा योजना निर्माणका सम्बन्धमा छलफल गरिरहेका भुसालले आर्थिक समृद्धिकालागी सबैको एकता र सहकार्य जरुरी रहेको पनि बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४