काठमाडाैं - बिरामीलाई सडकमै फालेर हिड्ने एक ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ। गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित उपचार गराई ट्याक्सीमा फर्कदैं गर्दा वेहोस भएपछि ट्याक्सी चालकले उनलाई गाडीबाट घिसार्दै वाहिर फालेर भागेका थिए। वाहिर फालिएका गोपालको उपचार अभावमा केही बेरमै निधन भयो।
बिरामीलाई सडकमै फालेर हिड्ने बा.१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तो छ घटना
चाबहिलको मेडिकेयर अस्पतालबाट गोपाल चेकजाँच गराएर ट्याक्सीमा फर्कदैं थिए। उनलाई मोटरसाइकलमा बस्न गारो हुने भएकाले उनका छोरा प्रविण मोटरसाइकलमा गए। उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा पुर्याउन भनेका थिए । ट्याक्सीमा घर हिँडेका गोपाल केही बेरमा बेहोस हुन्छन्। बेहोस भएको थाहा पाएपछि ट्याक्सी चालक कमलबहादुरले उनलाई घिसारेर सडककिनारमा फालेर हिँडे। गोपाललाई हृदयाघात भएपछि टयाक्सीचालकले हेल्पिङ ह्यान्डस नजिकैको सडक किनारमा अलपत्र छाडेर हिँडे।
सडकमा छटपटाइरहेका उनलाई अस्पतालको ड्युउटीमा खटिएका प्रहरी र केही बटुवाले हेल्पिङ ह्यान्डस अस्पताल लगे। तर, चिकित्सकले उनलाई मृत घोषणा गरे। केही अघिमात्रै पनि अस्पताल ल्याउन सकिएको भए उनको ज्यान बच्न सक्ने चिकित्सकले बताए। यो घटना त्यहाँ नजिकै जोडिएको सिसिटिभी फुटेजमा कैद भएको थियो। प्रहरीले सोही फुटेजको आधारमा ट्याक्सी चालकलाई पक्राउ गरेको हो।
कमलबहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जोकोहीलाई स्तब्ध बनाउँछ। सय मिटर पर अस्पताल हुँदाहुँदै सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्यले चालक कमल श्रेष्ठको सबैले निन्दा गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४