काठमाडाैं - परीक्षाअगावै प्रश्नपत्र बाहिरिन थालेपछि सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा अगावै प्रश्नपत्र बाहिरिनु निकै दुखद भएको बताउँदै चैत २१ गतेसम्मका सम्पूर्ण परिक्षा स्थगित गरिएको बताए। उनले चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको बताए।
मन्त्री पोखरेलले लाखौं विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने आपराधिक काम भएको भन्दै संलग्नमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
विद्यार्थीमाथि पर्न गएको असरलाई सरकारले गम्भीरताका साथ हेरेको बताउँदै उनले स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने बताए। अन्य प्रदेशमा भने परीक्षा स्थगित नभएको उनले बताए।
यसैबीच एसईई परीक्षा स्थगित भएपछि विद्यार्थी आक्रोशित भएका छन्। सरकारले आफूहरूको भविष्यमा खेलबाड गर्न खोजेको भन्दै प्रदेश २ का विद्यार्थी आक्रोशित भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४