सुर्खेत-मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) माग गर्दै विद्यार्थी धर्नामा बसेका छन्। चैत २५ गते नै विर्वाचन गराउनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघको अगुवाइमा विद्यार्थीले विश्वविद्यालयको मुल गेटमै धर्ना बसेका छन्।
नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय सहमहामन्त्री ईश्वर विष्टसहितका विद्यार्थी नेता धर्नामा बसिरहेका छन्। नेविसंघका केन्द्रीय सदस्य हरि शर्माले निर्वाचन आफू अनुकूलमा पर्ने नदेखेपछि पदाधिकारीहरुले मिति तोक्न ढिलाइ गरेको आरोप लगाए। विद्यार्थीले तत्काल स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग राख्दै एक हप्तादेखि दबाबमूलक कार्यक्रम जारी राखेका छन्।
यसअघि नेविसंघका विद्यार्थीले चैत्र २५ गतेनै स्ववियु निर्वाचन गराउन विश्वविद्यालयका निमित्त रजिस्ट्रार लीलाधर तिवारीलाई ज्ञापनपत्र बुझाएका थिए। नेविसंघले आवश्यक प्रक्रिया पूरा गरी स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने, हालसम्म विद्यार्थी र विश्वविद्यालयसँग गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै आएको छ।
तोकिएको समयसीमाभित्र स्ववियु निर्वाचन हुने वातावरण नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने नेविसंघले बताएका छन्। केही दिनअघि नेकपा निकट विद्यार्थीले पनि तोकिएकै समय निर्वाचन गराउन हस्ताक्षर थालेका थिए।
विश्वविद्यालयले भने विद्यार्थीको सहमतिमै निर्वाचन हुने बताउँदै आएको छ। विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीका अनुसार आंज्ञिक क्याम्पसहरुका विद्यार्थीहरुको उपयुक्त समय हेरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताए।
वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको एमयुमा विभिन्न दशवटा आंगिक क्याम्पससमेत एकै पटक निर्वाचन गराउनुपर्नेछ। उसो त विद्यार्थी संगठनहरुले आ-आफ्ना उम्मेदवारहरु टुङ्गो लगाउन सकेका छैनन्। विश्वविद्यालयले निर्वाचन तालिका सार्वजनिक नगरेकै कारण उम्मेदवार छनौट गर्ने विद्यार्थीहरुले बताउँदै आएका छन्। तीन वर्षअघि एमयुमा पहिलो पटक भएको निर्वाचनमा सचिव बाहेक अन्य सबै पदमा नेविसंघ विजयी भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४