जनकपुरधाम - यसअघि परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आइहरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ। मुलुक संघीयतामा गइसकेपछि अधिकार प्रत्यायोजन गर्दै परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारले पाएको हो।
प्रदेश स्तरमा शिक्षासम्बन्धी सम्पूर्ण कामकारबाही सामाजिक विकास मन्त्रालय अन्तर्गत हुने गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एसइई सञ्चालनसम्बन्धी सम्पूर्ण व्यवस्था मिलाएको छ। यद्यपि सम्पूर्ण संरचना तयार हुन नसक्दा प्रश्नपत्र भने संघले व्यवस्थापन गरेको छ।
एसइईलाई मर्यादित बनाउनुपर्ने भन्दै प्रदेश सरकारका कतिपय मन्त्रीहरु आफै अनुगमनमा निस्कने गरेका छन्। प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलगायतका मन्त्रीहरु परीक्षा अनुगमन गर्न विभित्र केन्द्रहरुमा पुगिरहेका छन्।
सामाजिक विकास मन्त्री साह एसइई अनुगमन गर्न धनुषामा केन्द्रीत छन्। पहिलो दिनको अंग्रेजी विषयको परीक्षा अनुगमन गर्न जनकपुरस्थित सरस्वती मावि केन्द्र पुगेका मन्त्री साहले केन्द्राध्यक्षका साथै निरीक्षकहरुसँग दुव्र्यवहार गरेको भन्दै कम आलोचना सहनु परेको छैन्।
मन्त्री साह भने आफूले परीक्षा मर्यादित बनाउन खोज्दा केहि शिक्षक माफियाहरु अनर्गल प्रचारबाजी गरेको दाबी गरेका छन्। तर मन्त्री साहकै गृह जिल्ला सप्तरीमा भने एसइई अमर्यादित रुपमा सञ्चालन भइरहेको पाइएको छ।
विहिबार विज्ञान विषयको परीक्षा सुरुहुनु अगाबै प्रश्नपत्र बाहिरिएको थियो। र, परीक्षापूर्व प्रश्नपत्र बाहिरिएको पुष्टि भइसकेपछि सप्तरीमा विज्ञान विषयको परीक्षा रद्द गर्ने निर्णय जिल्ला परीक्षा समन्वय समितिले गरेको छ। बिहान ८ बजे सुरु हुने परीक्षाको प्रश्नपत्र झण्डै आधा घन्टाअघि बाहिरिएको बताइएको छ। सप्तरीबाट बाहिरिएको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत प्रदेशको अन्य जिल्लाहरुमा समेत पुगेको आशंका गरिएको छ। यसैगरी सिरहामा पनि विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएको बताइएको छ।
विगत वर्षहरुका तुलनामा धनुषा, महोत्तरीलगायतका जिल्लाहरुमा परीक्षा मर्यादित भइरहेपनि सप्तरीमा भने अमर्यादित परीक्षा रुक्न सकेको छैन्।
यसअघि बुधबार अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै पाँच निरीक्षक र ५ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सप्तरीको परीक्षा केन्द्रहरुमा मोबाइलको बढी प्रयोग भइरहेको पाइएको छ। केन्द्राध्यक्षसँगको सेटिङ्गमा परीक्षार्थी मोबाइल फोन परीक्षा हलसम्म लाने गरेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४