इटहरी - शुक्रबार र शनिबार काठमाडौंमा चल्ने लगानी सम्मेलनमा प्रदेश १ का विभिन्न ५ परियोजनाहरूको प्रस्ताव गरिएको छ। कृषि, जलविद्युत, विमानस्थल देखि पर्यटकीय क्षेत्र सम्मका विभिन्न पाँच परियोजनाहरु सरकारले सम्मेलनमा प्रस्ताव गरेको छ।
सरकारले प्रस्तुत गरेका ७ क्षेत्रका विभिन्न ७७ परियोजनाहरुमा प्रदेश १ का ५ परियोजनाहरु परेका छन्।
४१ मिलियन अमेरिकी डलरको इटहरीको तालतलैया थिम पार्क विथ होटेल, ५.४५ मिलियन अमेरिकी डलरको उर्लाबारी मोरङको एकिकृत कृषि पूर्वाधार परियोजना र ३ सय ७३ मिलियन अमेरिकी डलरको ४ सय ३० दशमलव २४ बिघामा बन्ने विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रदेश १ बाट परेका परियोजनाहरु हुन्।
जलविद्युतका क्षेत्रमा पनि प्रदेश १ का दुई परियोजनाहरू परेका छन्। जसमा १ हजार २ सय १७ दशमलव ४ मिलियन अमेरिकी डलरको ७ सय २६ मेगावाटको तेह्रथुम र पाँचथरमा पर्ने तमोर जलाशययुक्त जलविद्युत परियोजना र १३ सय मिलियन अमेरिकी डलरको ६ सय ७९ मेगावाटको सङ्खुवासभा र भोजपुरमा पर्ने तल्लो अरुण विद्युत् परियोजना प्रदेश १ बाट लगानी सम्मेलन छनौट गरिएका छन्।
यी सबै ५ परियोजनाको एकमुस्ट रकम २ अर्ब, ९३ करोड, ६८ लाख ५० हजार अमेरिकी डलर रहेको छ। एक अमेरिकी डलर बराबर हाल १ सय १० दशमलव ९४ नेपाली रुपैयाँको विनिमय दर रहेको छ। सोही विनिमय दरका आधारमा उक्त लगानी भनेको ३ खर्ब, २५ अर्ब, ८१ करोड, ४१ लाख, ३९ हजार नेपाली रुपैयाँ हुन आउँछ।
प्रधानमन्त्री र अर्थमन्त्रीका जिल्लाबाट परेनन् परियोजना
प्रदेश १ बाट सरकारले लगानी सम्मेलनमा प्रस्ताव गरेका परियोजनाहरुमा प्रधानमन्त्री र अर्थमन्त्रीका जिल्ला झापाबाट कुनै पनि परियोजनाहरु परेका छैनन्। तराईबाट तीन र पहाडी क्षेत्रमा दुई वटा परियोजनाहरु प्रस्ताव गरिएकोमा पूर्वी तराइको झापाबाट भने कुनै परियोजनाहरु परेका छैनन्। झापामा अघिल्लो पटक प्रधानमन्त्री हुँदै विभिन्न मेगा प्रोजेक्टहरू पारेकाले लगानी सम्मेलनमा झापाबाट प्रस्ताव नपरेको हुन सक्ने जानकारहरुले बताएका छन्।
हाल झापाको दमक ३ मा २१ तलाको १ अर्ब ५५ करोड रुपैयाँको भ्यू टावर, दमकमै १२ बिघा क्षेत्रमा १५ अर्ब, ७५ करोड लगानीमा विश्वकै अग्लो बुद्ध मूर्ति, विश्वस्तरको रङ्गशाला, सभाहल र औद्योगिक ग्राम जस्ता ठुला परियोजनाहरू प्रधानमन्त्रीको चुनाव क्षेत्रसमेत रहेको झापाको दमकमा निर्माणको प्रारम्भिक प्रक्रियामा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४