काठमाडाैं - पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाल आइपुगेका छन्। मंगलबार राति ११ बजे न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्केका उनी बिहीबार दिउँसो स्वदेश आइपुगेका हुन्।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुको साथै अमेरिका बसाईका क्रममा केही महत्वपूर्ण राजनीतिक भेटवार्तासमेत भएको बताए।
प्रचण्डले विगतका घटनाका कारण अमेरिकामा आइपर्नसक्ने अप्रिय घटना रोक्न आफूलाई त्यहाँस्थित नेपाली राजदूतावासले सुरक्षित राख्न वैकल्पिक उपायहरुसमेत अपानाएको बताए। त्यसकारण अमेरिका पुग्दा आफू विमानस्थलबाट सिधै नेपाली दूतावास प्रस्थान गर्नु परेको उनले बताए। अमेरिकाले प्रवेशाज्ञा प्रदान गर्दा नै आफूमाथि कुनै अनुसन्धान नगर्ने भनि “वेवर“ जारी गरेकोलेसमेत आफूलाई कुनै गाह्रो नभएको उनले बताए।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड चैत ४ गते अमेरिका पुगेका थिए। उनले पत्नी सीतालाई अमेरिकाका तीन अस्पताल जोन हप्किन्स, जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टर र बरमिन्गम यूनिभर्सिटीमा उपचार गराएका थिए। प्रचण्ड पत्नी सीतालाई पार्किन्सन रोगनै लागेको चिकित्सकले बताएका थिए।
स्वास्थ्य परीक्षणपछि चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्ने भन्दै औषधिहरु दिएका छन्। सीताको स्वास्थ्य अवस्थामा सुधार आएको र सामान्य हिँडडुल आफै गर्न सक्ने भएको परिवार श्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४