काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई नियन्त्रणमा लिएरै छोड्ने बताएका छन्। उनले कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानूनबमोजिम कारबाही गरेरै छोड्ने प्रतिवद्धता दोहोर्याए।
नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउन नसक्ने जिकिर गरे। विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको उनले बताए। ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि, कुनै घरमा छ?’ उनले भने, ‘त्यो एउटा गिरोह हो।
राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको प्रधानमन्त्री ओलीको भनाइ छ।
विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउन नहुने तर्क राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको बताउँदै उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए।
पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै उनले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढ्ने बताए।
कम्युनिष्ट सरकारले आयोजना गरेको लगानी सम्मेलन सफल हुँदैन भनेर गरिने टिप्पणी देशको हितविरुद्ध भएको उनको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४