जनकपुरधाम – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुला नेताहरुकै संरक्षणमा भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन्। भ्रष्टाचारका कारण मुलुक दलदलमा फसेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही गर्न नसक्नु दुखद भएको उनले बताए। नेपाल प्रेस युनियन धनुषाले बिहीबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले राजनीतिक संरक्षणविना ठुला काण्डहरु हुनै नसक्ने दाबी गरे।
वाइडबडी खरिदमा समेत ठुला नेताहरुको संलग्नतामा भ्रष्टाचार भएको भन्दै पौडेलले दोषीलाई कारबाहीको दायरमा ल्याउन अख्तियारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाए।‘अख्तियार सानातिना घटनाहरुमा मात्र अल्झेर बसेको छ, ठुला घटना छुन आफै डराएको छ,’ पौडेलले प्रश्न गरे, ‘ठुला काण्डहरु अख्तियारले किन हेर्न सकिरहेको छैन?’
केपी ओली नेतृत्वको वर्तमान सरकारले अख्तियारसहित न्यायिक निकायहरुलाई कब्जामा लिएर आफू अनूकुल चलाउन खोजेको उनको आरोप छ। संवैधानिक तथा न्यायालयजस्ता निकायलाई पंगु बनाएर सरकारले संघीयता र लोकतन्त्रलाई नै धरापमा पार्न खोजेको उनको आरोप छ।
पौडेलले दुई तिहाइको दम्भमा मातेको सरकार जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पैसा बाँडेर रोजगारी सिर्जना हुन नसक्ने दाबी गरे।‘सरकारले पैसा बाँडेर रोजगारी दिने कुरा गरिरहेको छ,’ उनले भने, ‘रोजगारीको वातावरण बनाउन सक्नुपर्दछ। कार्यकर्तालाई पैसा बाँडेर रोजगारी आउनेवाला छैन्।’ रोजगारीको वातावरण बनाउन सरकारले आधारभूत कामसमेत गर्न नसकेको उनको भनाइ छ।
नेपाल हुने भनिएको लगानी सम्मेलन सफल होस भन्ने आफूहरुको चाहना रहेपनि लगानीको सुनिश्चितताको वातावरण बनाउने दायित्व सरकारको रहेको पौडेलले बताए।
नेता पौडेलले मधेशवादी दलहरुले जनतालाई भ्रममा पारेको आरोपसमेत लगाए। मधेशको विरोध गर्ने र संविधान संशोधन नचाहने केपी ओलीको सरकारलाई समर्थन दिएर दुई तिहाइ पुर्याउने काम मधेशवादी दलले गरेको उनको भनाइ छ। मधेशवादी दलहरुले जनताको सेन्टिमेन्टलाई ब्ल्याकमेल गरेर सत्तामा पुग्ने काममात्र गरेको उनको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४