काठमाडौं- अमेरिका भ्रमणमा रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश आइपुग्ने भएका छन् । मंगलबार राति ११ बजे न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलबाट स्वदेश फर्केका उनी आज नेपाल उत्रिने भएका हुन् ।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड चैत ४ गते अमेरिका पुगेका थिए । उनले पत्नी सीतालाई अमेरिकाका तीन अस्पताल जोन हप्किन्स, जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टर र बरमिन्गम यूनिभर्सिटीमा उपचार गराएका छन् । प्रचण्ड पत्नी सीतालाई पार्किन्सन रोग नै लागेको चिकित्सकले नर्कोल गरेका छन् ।
स्वास्थ्य परीक्षणपछि चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्ने भन्दै औषधिहरु दिएका छन्। सीताको स्वास्थ्य अवस्थामा सुधार आएको र सामान्य हिँडडुल आफै गर्न सक्ने भएको परिवार श्रोतले जनाएको छ ।
अमेरिकामा के के गरे प्रचण्डले ?
चैत ४ गते अमेरिका पुगेका प्रचण्डले अधिकांश समय अस्पतालमा बिताए । पत्नीको उपचारका लागि तीनवटा अस्पताल पुगेका उनी नेपालीहरुले आयोजना गरेको केहि कार्यक्रममा पनि सहभागी भए । अमेरिकाको कोहि राजनीतिककर्मीसँग भेट नभए पनि केहि सरकारी अधिकारीहरुसँग उनको भेटघाट भएको थियो ।
पूर्व नेकपा माओवादीका अध्यक्ष समेत रहेका दाहालका बारेमा संघीय अदालतमा एक नेपालीले उजुरी गरेपछि अमेरिकी सरकारले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेको थियो। जसको अर्थ हुन्छ, उनका विरुद्धमा उजुरी भएपनि अनुसन्धान र पक्राउ नहुनु। यस्तो खालको सर्कुलर अमेरिकी सरकारले यसअघि भारतीय नेताहरु सोनिया गान्धी र नरेन्द्र मोदीलाई जारी गरेको थियो।
अध्यक्ष दाहालको यो तेश्रो अमेरिका भ्रमण हो। यस अघि सन् २०११ र सन् २००८ मा नेकपा अध्यक्ष दाहाल अमेरिका आएका थिए। सन् २०१२ को सेप्टेम्बर ६ मा अमेरिकी सरकारले प्रचण्ड नेतृत्वको माओवादीलाई आतंककारी सूचिबाट हटाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४