काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले सर्वोच्च अदालत चाँडो न्याय दिनै नसक्ने अवस्थामा पुगेको विषयलाई मुख्य समाचार बनाएको छ । सर्वोच्चमा दिनहु हेर्न नभ्याइने सूचीमा ढेड सयदेखि दुईसय मुद्दा पर्ने गरेका छन् । मंगलबारमात्रै १७३ वटा मुद्दा पालोबाट हटाइएको छ । दिनहु यसरी मुद्दा पर सार्दा हेर्न नभ्याइनेको किर्तिमान बनेको समाचारमा उल्लेख छ ।
न्यायाधीशको चरम अभावका कारण न्यायसम्पादन नै प्रभावित भएको छ । पाँच जना न्यायाधीशले अवकाश पाउँदा पनि नयाँ न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्को बैठक बस्न सकेको छैन् ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र, न्यायाधीशहरू दीपकराज जोशी र शारदाप्रसाद घिमिरेको अवकाशपछि उनीहरूका स्थानमा नयाँ नियुक्ति हुन सकेको छैन । न्यायाधीश नभएकै कारण सर्वोच्चका १० इजलासमध्ये तीनवटा ठप्प हुने अवस्था छ भने न्यायाधीशको अभावमा प्रायः इजलास प्रभावित भएको समाचारमा जनाइएको छ ।
यो खबरसँगै आजको अन्नपूर्ण पोस्ट्ले उदार नीतिले तान्यो लगानी शीर्षकमा एङ्कर न्यूज छापेको छ ।
सरकारी भण्डारणमा जापानिज इन्सेफ्लाइटिस र रेबिजविरुद्धका खोप सकिन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । उसले रेल कुदाउन चीन आतुर शीर्षकको खबरलाई पनि महत्वका साथ प्रकाशित गरेको छ ।
आजको कान्तिपुर दैनिकले भने ३० खर्बको खोजी शीर्षकमा मुख्य समाचार छापेको छ ।
कृषि, उर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाउन शुक्रबारबाट लगानी सम्मेलन सुरु हुँदै छ । जहाँ ३० खर्ब रुपैयाँको खोजी हुने अर्थात यो रकम बराबरको लगानी भित्राउने तयारी भएको छ । सम्मेलनमा सरकारी ५० र नीजि २७ आयोजना सोकेस गरिँदै छ भने ४० भन्दा बढी देशका ६०० भन्दा बढी सहभागी हुँने समाचारमा उल्लेख छ ।
यस्तै संघीय संसद्को उपसमितिले परिक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सुझाव दिएको विषयलाई पनि कान्तिपुरले महत्वका साथ छापेको छ । शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले पठन पाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनु पर्ने ठहर गर्दै यस्तो सुझाव दिएको हो ।
आजको नागरिक दैनिकले भने नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा बनाएको खुलासा गरेको छ ।
नेपाल ट्रस्टको जग्गा ब्यक्तिको नाममा शीर्षकमा खबर लेखेको उसले मन्त्रिपरिषद्बाट निर्णय भएको देखाएर नेपाल ट्रस्ट धनी रहेको थानकोट, मातातीर्थ, इचंगु र सतुंगलका जग्गा योजनाबद्ध तरिकाले मालपोत कार्यालय कलंकीबाट व्यक्तिको बनाइएको खुलासा गरेको हो ।
यस्तै नागरिक दैनिकले लगानी सम्मेलनका लागि ६ हजार सुरक्षाकर्मी परिचालन गरिने विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । सुरक्षाका लागि नेपाल प्रहरीबाट ४ हजार २ सय, सशस्त्रबाट १ हजार ८ र राष्ट्रिय अनुसन्धान विभागबाट २ सय जनशक्ति परिचालन गरिने भएको समाचारमा जनाइएको छ ।
आजको नयाँ पत्रिकाले भने निःशुल्क औषधिको ४१ करोड फ्रिज शीर्षकमा मुख्य समाचार छापेको छ । विपन्न नेपालीका लागि औषधि खरिद गर्न गत वर्ष ८० करोड विनियोजन गरेकोमा स्वास्थ्य सेवा विभागले ३९ करोडको मात्रै औषधि किनेको छ । ४१ करोड फ्रिज भएर गएको समाचारमा जनाइएको छ ।
स्टोर गर्न नमिल्लने औषधी भने विभागले किनेर चाङ लगाएको छ । नौ महिना मात्रै भण्डारण गर्न सकिने सुगरको औषधि मेटफर्मिन ८८ महिनाका लागि र १५ महिन मात्र भण्डारण गर्न सकिने एन्टियोबायोटिक ५८ महिनाका लागि खरिद गरिएको छ । तर, जिल्ला अस्पतालमा आइरन चक्की र जुकाको औषधी पनि नभएको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४