काठमाडौं- आज चैत १३ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ ।
सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए ।
आन्तरिक कचिंगल यथावत् राखेर नेपाली कांग्रेसका नेताहरू एकाएक जिल्ला दौडाहामा निस्केका छन्। पार्टीका आन्तरिक विषयको टुंगो नलगाई नेताहरू यसरी जिल्ला दौडाहामा व्यस्त हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यसलाई आगामी महाधिवेशनको ‘पावर रिहर्सल’ का रूपमा पनि हेरिएको छ। पार्टीको आधिकारिक योजना र कार्यक्रम बिना आफ्नो गुटलाई बलियो पार्न संस्थापन र असन्तुष्ट दुवैतर्फका नेताहरू जिल्ला दौडाहामा लागेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको काम छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सरकारसँग क्षतिपूर्ति बापत २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको छ। संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले सीएमसीले २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको जानकारी गराएका हुन्। सीएमसीले नाकाबन्दी लगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिबापत सरकारसँग रकम माग गरेको उनले जानकारी गराए।
अर्थमन्त्री डा युवराज खतिवडाले लगानी सम्मेलनले नेपालमा लगानीको नयाँ माहोल सिर्जना गर्ने बताएका छन्। लगानी सम्मेलनको तयारीबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने, ‘लगानी सम्मेलन साझा प्रयास हो, नेपाललाई चिनाउने र लगानी हब बनाउने अभियान हो ।'
सरकारले शुक्रबार र शनिबार गर्न लागेको लगानी सम्मेलनमा ३५ खर्ब रुपैयाँ बराबरको ७७ वटा परियोजना प्रस्ताव गर्ने भएको छ। जसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा निजी छन्। सम्मेलनमा राखिने ती आयोजनाहरुको मंगलबार बसेको लगानी बोर्ड बैठकले टुंगो लगाएको हो। बोर्डको अनुसार ती आयोजना सम्मेलनमा प्रस्तावका लागि राखिने र सम्मेलनमार्फत लगानी जुटाइने भएको छ।
सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९ औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो ।
ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ ।
खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छिन्। आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताइन्।
मन्त्री मगरले विज्ञप्ति जारी गर्दै आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको दाबी गरिन्। आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरिन्।
सुकुना बहुमुखी क्याम्पसमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच झडप भएको छ। क्याम्पसका प्राध्यापकले अन्यत्र पनि पठनपाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा उत्रीएको नेविसंघ र अनेरास्ववियुबीच झडप भएको हो। सोही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच भएको विवाद झडपमा परिणत हुँदा नेविसंघका चार जना घाइते भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भनेर सम्बोधन गरेको विषयमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली नियोगलाई स्पष्टीकरण सोधेको छ। नियोगले गम्भीर त्रुटी गरेको भन्दै परराष्ट्रले स्पष्टीकरण सोधेको हो।
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लप नेतृत्व सम्बद्ध अखिल नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई रुपन्देहीको रुद्रपुरबाट पक्राउ गरेको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार सर्वसत्तावादको बाटोमा उन्मुख भएको आरोप लगाएका छन्। बुधबार धनुषाको बालाबाखरमा आयोजित आमसभामा बोल्दै नेता पौडेलले सत्तालाई केन्द्रीकृत गरी सर्वसत्तावाद लाद्न खोजेका आरोप लगाए। उनले न्यायालय र संवैधानिक निकायलाई पंगु बनाएर सरकार अगाडि बढिरहेकोमा आक्रोस व्यक्त गरे।
भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदैछन्। आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी यहाँ आउन लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गोख्लेले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पूर्वपरराष्ट्रमन्त्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई पुत्री शोक परेको छ। न्युयोर्कमा बस्दै आएकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ । उनको कसरी निधन भयो भन्ने बारे भने केही खुलाइएको छैन। तेजश्रीको अमेरिकाको न्यूयोर्कमा निधन भएको हो। पत्रकार डेनियल ल्याकले उनकाे निधनबारे अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा उल्लेख गरेका छन्।
निजी क्षेत्रले लगानी सम्मेलनमा सानातिना समस्यामा नअल्झन सरकारलाई सुझाव दिएको छ। बुधबार सिंहदरबारमा लगानी सम्मेलनकारे आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानी सम्मेलनका अवसरमा सयौं विदेशी लगानीकर्ता नेपालमा आउनु खुसीको अवसर भएको बताए। उनले यस अवसरलाई खेर फाल्न नहुने भनाइ उनको छ। ‘सम्मेलनलाई सफल पार्न पनि अहिले ससाना समस्या बाहिर नल्याऊँ,’ उनले भने।
प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ। तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन। बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ।
नेपालको पासपोर्ट विश्वको ९८ औं शक्तिशाली स्थानमा परेको छ। हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट ९८ औं स्थानमा परेको हो।
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका चार जना नेतालाई बाँकेबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य तथा न्यायिक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्य फाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पूर्व जनसरकार प्रमुख सन्तोष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ।
लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला? झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन।
ललितपुर महानगरपालिकामा कला र सांस्कृतिक महोत्सव सुरु भएको छ। महानगरको मंगलबजार क्षेत्रमा यो महोत्सव आयोजना गरिएको हो। बुधबारबाट सुरु भएको यो महोत्सव आइतबारसम्म चल्नेछ। वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना गरेको हो।
प्रहरीले अवैध हतियार र लागुऔषधसहित ४ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको बालाजुबाट १ थान खुकुरी र फलामको रड र १ सय ३९ थान डाईजापाम, फेनारगन, नरफिनसहित मनमैजु वस्ने २३ वर्षीय सन्तोष तामाङ् र अभयलाई पक्राउ गरेको छ। विप्लव समूहका अवाञ्छित गतिबिधि रोक्न विशेष अप्रेसन चलाएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये ६ जनाको म्याद थप गरिएको छ भने एक जना बुधबार बिहान मात्र पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् ।
नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्न लागिएका कारण विमानस्थल दैनिक १० घण्टा बन्द गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए । हाल विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा छ । १८ गतेबाट तीन महिना दैनिक १४ घण्टा मात्रै विमानस्थल खुला रहने भएको जनाइएको छ । मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ ।
नेपाल वायु सेवा निगमको जहाजबाट दुबई जाने क्रममा रहको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरू गरेको छ। सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगेको भन्दै सोधपुछ शुरू गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएपछि प्रहरीले उक्त घटनाका बारेमा छानविन शुरू गरेको छ।
अछामको रामारोशनमा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरी विप्लव समूहका कार्यकर्ता खोज्दै प्रहरी रामारोशन गाउँपालिका– बाटुलासेनको झाता गाउँमा पुग्दा दोहोरो गोली हाना हान भएको हो । प्रहरी गाउँ पुगेको थाहा पाएपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए भने प्रहरीले पनि जवाफि फायरिङ गरेको थियो। गोली लागेर विप्लव समुहका अछामका इन्चार्ज शेरबहादुर बिक दर्शनको खुट्टामा चोट लागेको छ। प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिएको छ ।
पाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयका लागि विषयगत शिक्षक, संगित र खेलकुद प्रशिक्षकको माग गरेको छ । बुधबार गोरखापत्रमा सुचना निकाल्दै सेना ठूलो संख्या शिक्षक, प्रशिक्षक र प्राविधिकहरुको माग गरेको हो । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्यालरविद्यालयहरुमा दर्खास्त दिन आह्वान गरेको छ । विषय र पद अनुसार योग्यता र उमेर फरक फरक तोकिएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ठेक्का लिएर काम नगर्ने आयोजनाको ठेक्का तोड्न निर्देशन दिएका छन्। उर्जामन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मातहतका निकाय तथा कर्मचारीलाई उक्त निर्देशन दिएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४