काठमाडौं – खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छिन्। आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताइन्।
मन्त्री मगरले विज्ञप्ति जारी गर्दै आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको दाबी गरिन्। आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरिन्।
आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकांश काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महिना पहिले हात झिक्दा समस्या आएको मन्त्रीको प्रष्टोक्ति छ।
ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जानकारी आएको भन्दै उनले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यस विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था नहुने बताइन्।
उनले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिइन्।
‘कुनै पनि आयोजना निर्माणको आफ्नै मान्यता हुन्छ। ती कानूनी मान्यता नाघेर हामीले कुनै अवैधानिक निर्णय लिन सक्दैनथ्यौं र लिएनौं पनि।', उनले भनिन्, ‘यो हाम्रो नियत वा क्षमताको प्रश्न नभएर राज्यद्वारा निर्दे्शित ऐन, कानूनहरुप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको सङ्कल्प हो। यसमा म दृढ छु, सधैं दृढ रहनेछु।’
उनले मेलम्ची आयोजनामा आफुले अनियमितता गरेको प्रमाणित भए आफु जुनसुकै सजाय भोग्न तयार रहेको बताइन्। यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’उनले भनिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४