जनकपुरधाम - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार सर्वसत्तावादको बाटोमा उन्मुख भएको आरोप लगाएका छन्। बुधबार धनुषाको बालाबाखरमा आयोजित आमसभामा बोल्दै नेता पौडेलले सत्तालाई केन्द्रीकृत गरी सर्वसत्तावाद लाद्न खोजेका आरोप लगाए। उनले न्यायालय र संवैधानिक निकायलाई पंगु बनाएर सरकार अगाडि बढिरहेकोमा आक्रोस व्यक्त गरे।
अहिलेको सरकारले जनताको आवश्यकता र मुलुकको प्राथमिकता बुझ्न नसकेको पौडेलले आरोप लगाए। शान्ति, सुरक्षा दिन नसकेको सरकार विकासका काममासमेत असफल भएको पौडेलले बताए।
‘प्रधानमन्त्री केपी ओलीले पानीजहाज चलाउन खोज्नु भएको छ’ पौडेलले भने, ‘प्रधानमन्त्रीज्यू मधेशलाई पानी जहाज होइन, सिंचाई चाहिएको छ।’ चुरे क्षेत्रमा भइरहेको दोहनप्रति आपत्ति जनाउँदै उनले चुरे दोहनले मधेश मरुभूमि बत्रे निश्चित रहेपनि संरक्षण गर्न सरकारले ध्यान पुर्याउन नसकेको आरोप लगाए।
मधेशलाई हेला गर्ने ह्याङ्ग ओभर अझै अन्त्य हुन नसकेको उनले बताए। तत्कालीन सामन्तीहरुले मधेशलाई हेर्ने दृष्टिकोण समयक्रमसँगै परिवर्तन भएपनि ह्याङ्ग ओभर अझै बाँकी रहेको पौडेलको भनाइ छ।
नेपाली कांग्रेस मधेशबाटै जन्मेको पार्टी रहेको बताउँदै पौडलले भने,‘कांग्रेस र मधेश एउटै हो। बीचमा केही तत्वले भ्रम सिर्जना गरेको छ। भ्रम चिरेर तपाइहरुसँग संवाद गर्न यहाँ आइपुगेको छुँ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४