काठमाडाैं - मेलम्ची खानेपानी आयोजनाको काम छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सरकारसँग क्षतिपूर्ति बापत २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको छ।
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले सीएमसीले २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको जानकारी गराएका हुन्। सीएमसीले नाकाबन्दी लगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिबापत सरकारसँग रकम माग गरेको उनले जानकारी गराए।
समितिले पाण्डेलाई आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो। समितिको बुधबारको बैठकमा उनले बुझाएको प्रतिवेदनमा आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ।
प्रतिवदेनमा सीएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर आयोजनाको बाँकी काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ। समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सीएमसी कम्पनीबाटै गराउनुभन्दा २ अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४