काठमाडौं–निजी क्षेत्रले लगानी सम्मेलनमा सानातिना समस्यामा नअल्झन सरकारलाई सुझाव दिएको छ। बुधबार सिंहदरबारमा लगानी सम्मेलनकारे आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानी सम्मेलनका अवसरमा सयौं विदेशी लगानीकर्ता नेपालमा आउनु खुसीको अवसर भएको बताए। उनले यस अवसरलाई खेर फाल्न नहुने भनाइ उनको छ। ‘सम्मेलनलाई सफल पार्न पनि अहिले ससाना समस्या बाहिर नल्याऊँ,’ उनले भने।
उनले नेपाल संसारकै सबैभन्दा बढी उद्योगधन्दाबाट नाफा कमाउने मुलुकमा पर्ने दाबी गरे। ‘तर हामीले यसलाई मार्केटिङ गर्न सकेका छैनौं,’ उनले भने ,‘त्यसैले थोरै मात्रै त्यस्ता विदेशी लगानीकर्ताहरु मुलुकमा लगानी गर्न आएका हुन्।’ उनले लगानी सम्मेलनका अवसरमा निजी क्षेत्रले विभिन्न मुलुकका लगानीकर्तासँग ‘बीटुबी’ बैठक गर्ने र उत्पादनमूकक, इलेक्ट्रोनिक, कृषि लगायत क्षेत्रमा लगानी भित्र्याउन जोड दिने जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विगतका लगानी सम्मेलनका लागि विदेशी लगानीकर्ताले नेपालको राजनीतिक अस्थिरता, ऊर्जा संकटलगायतको समस्या देखाउने गरेकोमा अहिले त्यस्तो गुनासो नआएको बताइन्। ‘सरकारले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाइरहेकोमा निजी क्षेत्रले पनि साथ दिइरहेको छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय स्तरमा निजी क्षेत्रले पनि सरकारको उद्देश्यअनुरुप ब्रिफिङ गरिरहेको छ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थायी सरकार, लगानीमैत्री नयाँ बनेका ऐन, कानुनले विदेशी लगानीकर्तालाई आकर्षित गरेको बताए। उनले मुलुकमा छ सय बढी विदेशी लगानीकर्ता आउनुलाई कम आँक्न नहुने र यसलाई अवसरका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
सरकारले लगानी सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताको नेटवर्क मजबुद हुने विश्वास गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४