काठमाडौं- सरकारले शुक्रबार र शनिबार गर्न लागेको लगानी सम्मेलनमा ३५ खर्ब रुपैयाँ बराबरको ७७ वटा परियोजना प्रस्ताव गर्ने भएको छ। जसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा निजी छन्।
सम्मेलनमा राखिने ती आयोजनाहरुको मंगलबार बसेको लगानी बोर्ड बैठकले टुंगो लगाएको हो। बोर्डको अनुसार ती आयोजना सम्मेलनमा प्रस्तावका लागि राखिने र सम्मेलनमार्फत लगानी जुटाइने भएको छ।
सम्मेलनमा करिब एक दर्जन परियोजनाको विदेशी लगानीकर्तासँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिनेसमेत अर्थमन्त्री डा.युवराज खतिवडाले बैठकमा बताए।
उनका अनुसार जलविद्युत्, पर्यटन र उत्पादनलगायतका क्षेत्रका करिब एक दर्जन आयोजनामा एमओयू गरिनेछ।
सरकारले जलविद्युत् क्षेत्रमा मात्रै साढे १२ खर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरिरहेको छ। जसमा सरकारका तर्फबाट ८ ठूला आयोजना छन् भने निजी क्षेत्रबाट प्रस्तावित ११ जलविद्युत् आयोजना छन्।
सम्मेलनमा करिब ४० भन्दा बढी देशका ७ सय विदेशी लगानीकर्ता र तीन सय स्वदेशी लगानीकर्ता गरी हजार बढी सहभागी हुने बोर्डको भनाइ छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले सरकारले गर्ने लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिए।
उनले विदेशी लगानीकर्ता आउने क्रम सुरु भएको र सबैभन्दा बढी लगानीकर्ता बिहीबार आइपुग्ने बताए।
सम्मेलन केन्द्रको अभाव
बोर्डको बैठकमा मुलुकमा सम्मेलन केन्द्रको अभाव सम्बन्धमा समेत छलफल भएको छ। दोस्रो लगानी सम्मेलनको संघारमा आइपुग्दा सरकारले सम्मेलन केन्द्रको अभाव महसुस गरेको हो।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले मुलुकमा सम्मेलन केन्द्रको अभाव खट्किएको बताएका थिए। प्रधानमन्त्रीले चाँडो सम्मेलन केन्द्र बनाउन निर्देशनसमेत दिएको उनको भनाइ छ। ‘उहाँले तत्काल दुई हजार जना आट्ने हल बनाउन निर्देशन दिनुभएको छ’, उनले भने।
अर्थमन्त्री डा. खतिवडाले समेत बृहत् लगानी सम्मेलन गर्न लागे पनि संरचना पर्याप्त नभएको बताए। ठूलो लगानी सम्मेलन गर्न लागिएको अवस्थामा मुलुकमा पर्याप्त संरचना नभएको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४