धनगढी- अछामको रामारोशनमा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरी विप्लव समूहका कार्यकर्ता खोज्दै प्रहरी रामारोशन गाउँपालिका– बाटुलासेनको झाता गाउँमा पुग्दा दोहोरो गोली हाना हान भएको हो ।
प्रहरी गाउँ पुगेको थाहा पाएपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए भने प्रहरीले पनि जवाफि फायरिङ गरेको थियो। गोली लागेर विप्लव समुहका अछामका इन्चार्ज शेरबहादुर बिक दर्शनको खुट्टामा चोट लागेको छ। प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकामा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन्।
मंगलबार दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जनाएको छ।
विप्लव नेतृत्वका छापामारहरु अछाम प्रवेश गरेको आशंकामा सोमबार अछामको गैरीटाडमा नेपाली सेनाले आफ्नो उपस्थिति बाक्लो बनाएको थियो । बिप्लव समुहका नेता तथा सेना हुन सक्ने संभावित ठाउमा सादा पोशाकमा सुरक्षाकर्मी खटिएको स्रोतले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४