ललितपुर - ललितपुर महानगरपा लिका गाबहालस्थित सुख्खा मैदानमा परिणत भएको पूर्णचण्डी पोखरीको पुनर्निर्माण हुने भएको छ।
ललितपुर महानगरपालिकाले उक्त पोखरीको पुनर्निर्माण गर्न लागेको हो । पुनर्निर्माणका लागि ९९ लाख लागत अनुमान गरिएको उक्त पोखरीको सोमबार महानगरका मेयर चिरीबाबु महर्जनले शिलान्यास गरेका हुन्।
वडा नं २० मा अवस्थित पूर्णचण्डी पोखरी निर्माणका लागि ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ। केही वर्ष अघिसम्म गाबहालबासीको पानीको स्रोत रहेको पोखरीमा अहिले पानी छैन।
ललितपुर महानगरपालिकाका मेयर महर्जनले पोखरी संरक्षण सम्पदा संरक्षणको महत्वपूर्ण पक्ष भएको बताए। बढ्दै गएको सहरीकरणका कारण सहरको सुन्दरमा बिग्रदै गएकोमा चिन्ता प्रकट गरे। महानगरले सहरलाई सुन्दर बनाउने, वातावरण संरक्षण गर्ने पोखरी संरक्षणलाई प्राथमिकतामा राखेको बताए। उनले भने, ‘२०२१ सालको नापी नक्सा अनुसारमा नै पोखरीको क्षेत्रफल हुनुपर्छ, पोखरीको क्षेत्रफललाई खुम्चाउन पाइदैन।’
उपभोक्ता समितिका अध्यक्ष किरण महर्जनले पोखरी महत्वपूर्ण सम्पदा भएको बताउँदै यसको संरक्षणले पर्यावरण संरक्षणमा सहयोग पुग्ने बताए। उनका अनुसारमा पोखरीमा थुप्रिएको दुई फिट कालो माटो झिक्नुपर्नेछ। माटो झिकेपछि आवश्यक प्रक्रिया पुरा गरेर पोखरीमा पानी भरण गर्ने अध्यक्ष महर्जनले बताए। पोखरीमा पानी भरण आकाशेपानीबाट गरिनेछ।
उनले भने, ‘आकाशेपानीलाई ड्रेन मार्फत पोखरीसम्म आइपुग्ने व्यवस्था मिलाइएको छ।’ पानी पर्याप्त नभए विकल्पका बारेमा समेत छलफल गरिने बताए। पोखरीको पुनर्निर्माणले यस क्षेत्रमा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने स्पष्ट पारे।
परापूर्व कालमा पूर्णचण्डी पोखरी नख्खु खोला र बाग्मतीको दोभान भएको जानकारहरु बताउँछन्। पोखरीको पुनर्निर्माण समयमै सक्ने प्रतिबद्धता किरण महर्जनले गरे। उनका अनुसार दुई महिनाभित्र पुनर्निमार्णको काम सम्पन्न गर्नुपर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४