कञ्चनपुर - कञ्चनपुरमा साढे २३ किलो सुन घरमै गाडेर राजश्व चुहावट गर्न खोजेकोमा पक्राउ परेका ५ जना मध्ये एक जनालाई धरौटीमा छुट्ने भएका छन्। कञ्चनपुर जिल्ला अदालतले पक्राउ परेकाहरु मध्ये सुरज तिरुवालाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो।
यस्तै अदालतले लक्ष्मण तिरुवालाई भने थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। २३ किलो सुन लुकाएर राखेको अभियोगमा राजश्व अनुसन्धान विभागले ५ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरेको थियो।
विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुल उपर हुनुपर्ने दाबी गर्दै राजश्व चुहावटको मुद्दा दायर गरेको थियो। विभागले लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा तिरुवा, शंकरबहादुर विकसंग जनही ३ करोड ३८ लाख ५६ हजार विगो र ३ वर्ष कैद सजायको माग अभियोग पत्रमा गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका बस्ने शंकरबहादुर विकको घरमा अवैध लुकाई राखेको १ सय ८ थान र ३४ थानका दुई पोका सुन फागुन ४ गते पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनीहरुलाई कञ्चनपुरको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। त्यसमा थप अनुसन्धान गर्दै प्रहरीले उनीहरुविरुद्ध राजश्व चुहावटको मुद्दा दायर गरेको हो।
ती मध्ये २ जना हिरासतमा छन्। उनीहरूलाई आइतबार नै अदालतमा उपस्थित गराइएको थियो। सोमबार हिरासतमा रहेका दुवैजनाको बयान लिने काम भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। राजश्व अनुसन्धान विभागले अनुसन्धानपछि आइतबार जिल्ला अदालतमा राजश्व चुहावट कसुर अन्तर्गत मुद्दा दायर गरेपछि सोमबार अभियुक्तद्वयको बयान लिइएको थियो।
बरामद गरिएको सुन भने राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकमा बुझाइसकेको छ।
खाल्डो खनेर २३ किलो सुन लुकाएको अभियोगमा सुरुमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका २ दशरथ बस्तीबाट फागुन २ गते सो सुन बरामद गरेको थियो।
स्थानीय विकको घरमा खाडल खनेर राखिएको अवस्थमा सुन बरामद गरिएको थियो। विकको बयानपछि अन्य चार जनालाई पक्राउ गरिएको थियो। विककै बयान लगत्तै सुन तस्करी आरोपमा लक्ष्मण तिरुवालाई पक्राउ गरिको थियो। तिरुवा विककै ज्वाई हुन्। तिरुवा कैलाली जिप्रकामा कार्यरत प्रहरी जवानसमेत हुन्। पक्राउ परेका अन्य व्यत्ति पनि परिवारभित्रकै सदस्य हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४