काठमाडौ–हालै गठन भएको नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आफ्नो काम थालेको छ। समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र अनुशासन कमजोर हुँदै गएको निश्कर्ष निकाल्दै अनुशासन भंग गर्नेमाथि कडा कारबाही गर्ने भएको छ।
पार्टी कार्यलय सानेपामा भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित समेत पारित गरेको छ ।
बैठकले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गर्नेविरुद्ध कारबाही गर्न प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र अनुशासन समिति समक्ष उजुरी दिन सुचाना प्रकाशित गरेको छ । समितिले उजुरीहरुको छानबिन गरी दोषी देखिए कारबाही गर्ने भएकोछ ।
खासगरी सामाजिक संजाल र त्यसमा पनि फेसबुकमा पार्टीको लाइन र नीति विपरीत मनपरी लेख्ने प्रवृत्तिले कांग्रेसको आम छवि र भूमिकामा समेत नकारात्मक असर परेकोले त्यसलाई रोक्न कडा कदम चाल्नुपर्ने बारेमा छलफल भएको थियो।
अनुशासन समितिले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हित विपरित काम, कारबाही र गतिविधि नगर्न भनेको छ । समितिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक लिखित तथा अभिव्यक्त गरिएका बिषयबस्तु पार्टी हितको विधान तथा हित विपरीत भएको पाइएमा अनुशासन समितिले छानबिन गरेर कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।
अनुशासन समितिको बैठकपछि जारी विज्ञप्ती
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको प्रथम बैठक समितिका संयोजक केन्द्रीय सदस्य श्री भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा बस्यो । आजको बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।
निर्णय
१.नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरियो ।
२. पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाई र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ ।
३.पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका काम, कारवाई र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जाल मार्फत सार्वजनीक रुपमा प्रकट गरेमा त्यस्ता काम, कारवाई र गतिविधिहरु पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकोले त्यस किसिमका गतिविधिहरु नगर्न नगराउन सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४