सुर्खेत – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगायसँगै कर्णालीमा रहेका उनका कार्यकर्ताहरु भूमिगत हुन थालेका छन्। कर्णाली प्रदेशमा प्रहरीले निगरानी बढाएसँगै विप्लवका कार्यकर्ताहरु भूमिगत भएका हुन्।
देशभरबाट प्रहरीले विप्लवका कार्यकर्तालाई पक्राउ गर्न थालेपछि विप्लवको बढी प्रभाव रहेको कालिकोट र सल्यानका कार्यकर्ताहरु केही दिनदेखि सामाजिक सञ्जाल र मोबाइल फोनसमेत स्विचअफ गरेर भूमिगत भएका छन्।
रोचक कुरा त के भने सरकारले प्रतिबन्ध लगाएकै भोलिपल्ट अर्थात फागुन २९ गते राति रुकुम पश्चिमको आठबिसकोटमा ०५२ सालको झल्को दिनेगरी विप्लव कार्यकर्ताले राँके जुलुस निकालेका थिए। रुकुममा राँके जुलुस निकालेकै भोलीपल्ट अर्थात फागुन ३० गते कालिकोटका जिल्ला सेक्रेटरी रणदीपले प्रहरीलाई चुनौती दिँदै सदरमुकामको एक रेडियोमा लाइभ अन्तरवार्तासमेत दिएका थिए।
उता दैलेखको स्थानीयतहका जनप्रतिनिधिहरुले आफूहरुलाई विप्लवबाट सुरक्षा चुनौती रहेको जिल्लास्थित सुरक्षा निकायलाई जानकारी गराएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले फागुन २९ गते स्थानीय सरकारका प्रमुख र जिल्ला सुरक्षा निकायसँग आपतकालिन बैठक बसाले। विप्लवका यस्ता गतिविधिबाट तर्सिएको सुरक्षा निकायले विप्लवको शक्ति परीक्षण र जिल्लाको सुरक्षा व्यवस्था बुझ्न जिल्ला दौडाह अभियान थाल्यो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी महेश विक्रम शाहले कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजकोट, दैलेख र जुम्लामा पुगेर विप्वलका गतिविधि र सुरक्षा अवस्थामा उच्च निगरानी बढाउन जिल्लास्थित सुरक्षा नियकालाई निर्देशन दिए।
‘कर्णालीमा विप्लवको कुनै सुरक्षा चुनौति छैन।’डिआइजी महेश विक्रम शाहले भने,‘भेटेजति पक्राउ परेका छन्, अन्य सक्रिय कार्यकर्ताहरु भूमिगत भैसके।’
उता रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जिल्लामा विप्लवले कुनै पनि गतिविधि नगरेको बताए।‘पहिले सदरमुकाममै भेटिन्थे, आजभोली एकाएक हराए।’ खड्काले भने ‘उनीहरुको प्रयोग गर्दै आएका मोबाइलहरु पनि स्वीच अफ छन्।’
सल्यानमा भने सबैभन्दा बढी अर्थात चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका उपाध्यक्ष भिम ओली, युवा संगठन नेपाल सल्यानका सचिव खुम केसी, अखिल क्रान्तिकारी सल्यानका सचिव गणेश आरसी र जिल्ला सदस्य मदन केसी रहेका छन्।
उपाध्यक्ष ओली गत शनिबार आफ्नै मेडिकलबाट पक्राउ परेका हुन्। विप्लवले फागुन २३ गते गरेको राप्ती बन्दका क्रममा सल्लेखोलामा ट्रक तोडफोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
यस्तै विप्लवको आधारक्षेत्र मानिने कालिकोटबाटसमेत प्रहरीले विप्लवका कार्यकर्ताहरु पक्राउ गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार अहिलेसम्म कालिकोटबाट तीन जना विप्लवका नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा विप्लवका भेरी कर्णाली बुद्धिजीवी परिषदका इन्चार्ज धनराज शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हरि बस्नेतका अनुसार पक्राउ पर्ने शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुखसमेत हुन्। उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय रहेको प्रहरी भनाइ छ।
यस्तै कालिकोटबाटै प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। यसअघि चैत ७ गते प्रहरीले विप्लव निकट जनपत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाईसमेत पक्राउ गरिसकेको छ। विश्वकर्मा रेडियो कर्णालीको कार्यकक्षबाटै पक्राउ परेका हुन्।
कर्णालीका दश जिल्ला मध्ये कालिकोट र सल्यानबाहेक अन्य जिल्लाबाट विप्लवका कार्यकर्ता पक्राउ पर्न नसकेको प्रहरीको जनाएको छ। यस्तै प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गरेका सुनारलाई हरेक साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको छ।
विप्लका आधादर्जन बढी प्रभावशाली नेताहरु कर्णाली प्रदेशकै रहेका छन्। विप्लवका प्रवत्ता खड्गबहादुर विश्वकर्मा (कालिकोट), हेमन्त प्रकाश ओली (रुकुम पश्चिम) र धर्मेन्द्र वास्तोला (सुर्खेत) निवासी हुन्। यस्तै अधिकांश जिल्लाको नेतृत्व पनि कर्णालीकै नेताहरुले सम्हालेका प्रहरीको भनाइ छ।
दश वर्षे सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित कर्णाली भौगोलिक रुपले कठिन भएका कारण प्रहरीका लागि समेत चुनौतीपूर्ण देखिन्छ। तर, प्रहरीले भने विप्लवबाट कुनै चुनौती नरहेको बताउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४