काठमाडाैं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दबाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले करीब १३ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा केहीबेर दुबै पक्षबीच घम्साघम्सीसमेत भएको थियो। शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै शेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेपविरुद्ध नाराबाजी गरेका थिए।
शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४