काठमाडौं - केही दिनअघि जनकपुरको एउटै होटेलमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राजदूतको बसाइ के संयोग मात्र थियो त? यसबारेमा अनेक आशंका र अनुमानसहित भइरहेको चर्चाले राजनीतिक बजारलाई तरंगित गरेको छ।
भारतीय राजदूत पुरी गत चैत २ गते जनकपुर–जयनगरको रेलवेको प्रगति हेर्न भन्दै सुटुक्क जनकपुर पुगेका थिए। उनी जनककपुर पुग्दा पूर्वराजा शाह पनि तराई भ्रमणका लागि त्यही पुगेका थिए।
पूर्वराजा शाह स्थानीय सीताशरण होटलको चौथो तलामा बसेका थिए भने राजदूत पूरी तेस्रो तलामा बसेका थिए। एउटै होटेलमा दुवैजनाको बसाइ नियोजित थियो कि संयोग मात्र थियो? उनीहरूबीच गोप्य भेटघाट भयो भएन? यसमा विभिन्न आशंकासहित चर्चा गरिए पनि दुवै पक्षले दुवैजनाबीच भेटघाट नभएको र त्यो संयोग मात्र भएको दाबी गरेका छन्।
ज्ञानेन्द्र शाह जनकपुर रहेकै बेला भारतीय राजदूत त्यहाँ जानु र एउटै होटेलमा बास बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पूर्वराजा कुन होटेलमा बसेका छन् भने सूचना पक्कै पनि राजदूत पुरीलाई पहिले नै थियो। त्यसैले यो बसाइलाई संयोग मात्र भन्न नमिल्ने स्रोतको दाबी छ।
स्रोतका अनुसार दुई जनाबीच राति १० स्४५ बजेदेखि ११स३० बजेसम्म गोप्य भेटवार्ता भएको थियो। झन्डै पौने घण्टासम्म भएको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रप्रति भारत केही नरम देखिएको छ। पूर्वराजा शाहले स्वास्थ्य उपचार, धार्मिक कार्यक्रमलगायत बिभिन्न बाहनामा पटकपटक भारतको भ्रमण गरेका छन्। राजसंस्थालाई कुनै न कुनै प्रकारको स्पेस दिनुपर्ने बताउँदै आएका ज्ञानेन्द्रले भारतको सद्भाव र साथ लिनका लागि पछिल्लो समय विभिन्न माध्यमबाट लबिङ गरिरहेका छन्।
सरकारसँग ११ बुँदे सहमति गरेर सके राउत जनकपुर फर्के लगत्तै राजा तराइको भ्रमण भन्दै जनकपुर जानु र रेल वेको प्रगति निरीक्षण भन्दै भारतीय राजदूत पनि त्यहाँ जानुलाई राजनीतिक हिसाबले अर्थपूर्ण देखिन्छ। यो विषयले अहिले नेकपाभित्र पनि तरंग उत्पन्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूतबीचको सम्बन्धमा पछिल्लो समय केही खटपट देखिएको छ।भारतीय राजदूतावासले हालै आयोजना गरेको नेपाल–भारत सांस्कृतिक आदानप्रदानसम्बन्धी समारोहमा प्रमुख अथितिका रुपमा गरिएको निम्तालाई अन्तिम क्षणमा अस्वीकार गरेपछि दूतावासले चित्त दुखाएको छ।
भारतीय दूतावासले चैत ६, ७ र ८ गते नेपाल–भारत सांस्कृतिब आदानप्रदानसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो।प्रधानमन्त्री ओली कार्यव्यस्तताको कारण देखाएर उपस्थित भएनन्। कार्यक्रमको उद्घाटनमा सहभागी हुनका लागि निमन्त्रणा पत्र लिएर राजदूत मञ्जिभसिंह पुरी १५ दिनअघि नै बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीले आफू जसरी आउने वचन दिएका थिए। तर कार्यक्रम सुरु हुनुभन्दा ठीक एक घन्टाअघि प्रधानमन्त्रीको निजी सचिवालयबाट टेलिफोन गरेर कार्यव्यस्तताका कारण प्रधानमन्त्री आउन नसक्ने बताइएको थियो।
स्रोतका अनुसार कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थितिको कारण राजदूत पुरीको चैत २ गते अचानक भएको जनकपुर भ्रमणसँग जोडिएको छ। पुरीले परराष्ट्र मन्त्रालयलाई कुनै सूचना नदिइकन जनकपुर–जयनगरको रेलवेको प्रगति हेर्न भन्दै जनकपुर पुगेका थिए। यसमा ओली असन्तुष्ट थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजदूत पुरीले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको बारेमा परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको छ। प्रधानमन्त्री कार्यालयले परराष्ट्र सचिवसँग भेटबारे जानकारी मागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानीका लागि पहल गरिदिन राजदूत पुरीलाई अनुरोध गरेका थिए। तर मोदी चुनावमा व्यस्त भएका कारण पुरीले समय मिलाइदिन सकेनन्। यो कारणले पनि ओली पुरीसँग त्यति प्रशन्न नभएको स्रोतको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४