काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकाले लगाएको प्रतिबन्ध फुकुवा नगरे जे पनि हुनसक्ने चेतावनी दिएको छ ।
चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको गर्दै उसले नभए आफूहरु सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउ बाध्य हुने चेतावनी दिएको छ । सोमबार साँझ महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गर्दै नेपाल बन्दसहितकाे आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिएको छ ।
विप्लव समुहले भोलि १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने जनाएको छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले बताएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले चैत मसान्तभित्र वार्तामा नआए विप्लव समुहका सबै नेता कार्यकर्तालाई जेल हाल्ने चेतावनी दिइरहेका बेला विप्लव समुहले पनि धक्कीसहितको आन्दोनका कार्यक्रम घोषणा गरेको हो । सरकार प्रतिबन्धको घोषणा गरेपछि विप्लव समुहले पहिलो पटक विज्ञप्ती जारी गरेको हो ।
सरकारले फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत विप्लव समुहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पछिल्ला दिनहरुमा सरकार विप्लवविरुद्ध थप आक्रामक बन्दै गएको छ ।
गत शनिबार अर्थात चैत्र ९ गते विप्लव समुहका तेस्रो वरियताका नेता हेमन्तप्रकाश वलीसहित ९ नेतालाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार र सोमबार पनि केहि नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकार र विप्लव समुह दुबै वार्ताको मुडमा देखिएका छैनन् । सरकार विप्लवले हिंसात्मक गतिविधि नत्यागेसम्म वार्ता नगर्ने अडानमा छ भने विप्लव समुह सरकारले युद्धको उद्घोष गरेकाले आफूहरु घुडा नटेक्ने बताउन थालेको छ । दुई पक्षको टकरावका कारण आम नागरिक भने त्रसित बन्न थालेका छन् ।