पोखरा– गण्डकी प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व छ। पार्टी राजनीति, संसदीय र संघीय राजनीतिमा उनकै हालीमुहाली छ। संघीय संसद्, प्रदेशसभा चुनाव र स्थानीय तहको निर्वाचनमा ओलीपक्षीय नेताहरुले टिकट पाएका थिए। पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि ओली समर्थक मानिन्छन्।
विगतमा नेपाल पक्षमा रहेका नेता अब कता लाग्ने भन्ने अन्योलमा छन्। यस्तै दोधारमा छन् पर्वतको फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा। माधव नेपालका कट्टर समर्थक शर्मा यति बेला काठमाडौंमा छन्। अबको बाटो संस्थापनतिरै हो कि एमाले समाजवादीतिर? भन्ने जिज्ञासामा शर्माले भने, ‘तत्कालको अवस्थामा ठूलो शक्ति तटस्थ छ, यस्तो अवस्थामा केही भन्न सकिन्न।’ उनले नेकपा (एमाले–समाजवादी) को केन्द्रीय समितिमा परेका गण्डकीका नेताबाहेकको ठूलो पंक्ति ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए।
संस्थापन पक्षसँग मनमुटाव उत्कर्षमा पुग्दै गर्दा नेपालले कास्कीमा एमालेको समानान्तर कमिटी बनाएका थिए। जसको अध्यक्ष पूर्व विद्यार्थी नेता धनराज आचार्य छन्। समानान्तर कमिटी गठन गर्दा जति चर्चामा आएको थियो, त्यसपछि भने यसका गतिविधि त्यति प्रभावकारी देखिँदैन। त्यसैले अध्यक्ष आचार्य पार्टी दुईवटा भइसकेको अवस्थामा तत्काल केही निर्णय लिन नसकिने बताउँछन्। ‘पहिले हाम्रो पार्टीको बैठक बस्नुपर्यो, त्यो बैठकमा संथापन रोज्ने कि नयाँ पार्टी रोज्ने भन्ने निर्णय हुनुपर्यो नि’, उनी भन्छन्।
गण्डकी प्रदेशसभामा नेपाल पक्षका एकमात्रै सांसद भनेर चिनिएका इन्द्रलाल सापकोटाले भने फुटको झोला बोक्न नसकिने बताउँदै आफू संस्थापन पक्षमै रहेको जनाउ दिइसकेका छन्। ‘आफ्नै स्थायी समितिका १० जना लैजान नसक्ने, कार्यकर्तालाई झोला बोकाउने?’ उनले भने, ‘विभाजन हैन, हामीले सिंगो एमाले चाहेका हौं। विभाजनको झोला मान्य हुँदैन।’
भूगोल र जनवर्गीय संगठनका हिसाबले नेपाल पक्ष कमजोर रहे पनि गण्डकीमा नेपालका जति नेताकार्यकर्ता छन्, ती पार्टी राजनीतिमा खारिएका छन्। बुधबार नेपाल समूहले एमाले (समाजवादी) गठन गर्दा गण्डकीका तिनै नेताहरु केन्द्रीय समितिमा समेटिएका छन्।
केन्द्रीय समितिमा समेटिनेमा लमजुङका केशवलाल श्रेष्ठ, तनहुँका प्रतापलाल श्रेष्ठ र दिलकुमारी पन्त, कास्कीका तुलबहादुर गुरुङ, चूडामणि विक जंगली र श्रीनाथ बराल, स्याङ्जाकी शर्मिलादेवी पौडेल क्षेत्री तथा रेखा थापा बस्याल छन्।
संघ र प्रदेशको चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्दासमेत नेपाल समूहका सम्भावित उम्मेदवारले टिकट पाउने ठाउँ माओवादी केन्द्रको भागमा पारिएको थियो।
पार्टीमा प्रभावशाली मानिने श्रीमाया थकाली र सीता गिरी ओली, पदमपाणि शर्मालाई केन्द्रीय कमिटीमा राखिएको छैन। वर्षौंसम्म महासचिव रहँदा पनि माधव नेपालले गण्डकीमा बलियो पकड कायम राख्न सकेनन्। २०५४ सालमा एमाले विभाजन हुँदा बरु धेरै नेताकार्यकर्ता मालेमा गए तर माधव नेपालका पक्षमा गएनन्।
संघ र प्रदेशको चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्दासमेत नेपाल समूहका सम्भावित उम्मेदवारले टिकट पाउने ठाउँ माओवादी केन्द्रको भागमा पारिएको थियो। सोही कारण गण्डकी प्रदेश सभामा नेपाल पक्षबाट बागलुङका इन्द्रलाल सापकोटा मात्रै सभासद् बन्न सके। संघीय संसदमा पनि उस्तै अवस्था रह्यो।
प्रदेशमा ओलीले पनि सन्तुलन मिलाउन नसकेको नेताकार्यकर्ता बताउँछन्। अघिल्लो पटक सीता गिरी ओलीलाई दिइएको कास्की क्षेत्र नम्बर ३ मा जगत विश्वकर्मालाई ल्याइयो। पुराना नेता तुलबहादुर गुरुङले टिकट नै पाएनन्। कास्कीबाटै प्रदेश सांसदको दाबी गरेका नेपाल पक्षीय श्रीनाथ बराललाई तल्लो कमिटीबाटै सिफारिस नहुने अवस्था उत्पन्न गराइएको थियो।
ओलीले पनि पार्टीमा शक्ति सन्तुलन नमिलाएको उनी पक्षीय एक नेता बताउँछन्। ‘महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष भइसकेको अवस्थामा निकटतम प्रतिद्वन्द्वीसँग शक्ति सन्तुलन मिलाएर लैजानुपथ्र्यो’, ती नेताले भने, ‘यसरी एकलौटी गर्दा अर्को पक्ष भट्किनु स्वाभाविकै हो।’