काठमाडौं – नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा ‘द म्यान फ्रम काठमाडौं’ शुक्रबार ‘जानी नजानी’ र ‘पुरानो बुलेट’सँग भिड्ने भएको छ।
‘द म्यान फ्रम काठमाडौं’ ठुलो लगानीको फिल्म हो। निर्माण पक्षका अनुसार यो फिल्मको बजेट पाँच करोड भन्दा माथि रहेको छ। यस फिल्ममा नेपालीदेखि बलिउडसम्मका नामी कलाकारहरुको अभिनय देख्न सकिने छ। नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको यो फिल्म अन्तर्राष्ट्रिय बजार लक्षित गरेरसमेत निर्माण गरिएको हो।
केही समययता नेपाली फिल्मको बजार खुम्चिदो छ। प्रत्येक शुक्रबार दुई तीन फिल्म प्रदर्शनमा आइरहेका छन्। तर, वर्षभरीमा औलामा गन्न सकिने फिल्मले मात्र सफलता हात पार्ने गरेकाछन्। यस्तो समयमा ठुलो लगानीमा आएको यो फिल्मलाई विशेष चासोका रुपमा हेरिएको हो।
यो फिल्म क्यूएफएक्सका मालिक नकिम उद्यिमले बनाएका हुन्। क्यूएफएक्स सिनेमाजले ‘द म्यान फ्रम काठमाडौं’लाई धेरै सोज संख्या प्रदान गरेको छ। राजधानीका पाँचवटा मेजर स्टेशनमा फिल्मलाई २० सोज दिइएको छ। यसलाई हेर्ने हो भने फिल्मले बक्सअफिसमा ठूलै प्रभाव पार्ने देखिन्छ।
अन्य दुई फिल्मको तुलनामा यसले पाँच गुना बढी शो पाएकाले पनि यसलाई महत्वका साथ हेरिएको छ। एक्सनले भरिपूर्ण यो फिल्म एक घण्टा ४५ मिनेटको रहेको बताइएको छ।
पेमा डोन्लुपले निर्देशन गरेको चलचित्रमा गुल्सन ग्रोबर, हमिद शेख, आना शर्मा लगायतको समेत समेत अभिनय देख्न सकिन्छ। यही महत्वका साथ हेरिएको यो फिल्मले दर्शकलाई कसरी तान्छ? त्यो भने हेर्न बाँकी नै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४