काठमाडौं - नेपथ्यले दुबईमा दोस्रो पटक प्रस्तुती दिने भएको छ। आगामी मार्च १५ अर्थात चैत्र १ गते नेपथ्यले दुबईस्थित अल नासर लेजर ल्याण्डमा प्रस्तुती दिने भएको हो। यसअघि सन् २०१५ मा ब्याण्डले दुबईमा कन्सर्ट गरेको थियो। भूकम्प पछि आयोजित उक्त कन्सर्टलाई नेपथ्यले 'राष्ट्रिय सन्तापको संगीत' का रुपमा लिँदै कन्सर्टबाट उठेको रकमलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको थियो।
‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवम् अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन् ।’
मुलुकभित्र अवसरको अभावले गर्दा लामो समयदेखि खाडीको तातो मरुभूमीमा परिश्रम गरेर कमाउन बाध्य नेपालीसामु ब्याण्डलाई पुरै क्षमतामा प्रस्तुत गर्ने धेरै पहिले देखिको योजना पुरा भएकोमा गुरुङले खुसी व्यक्त गरे। ‘नेपथ्य उसका श्रोता दर्शकहरुको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्लोपटक जाँदा पाइएको आत्मीयताले नै यसपाला दुबईलाई हामीले फेरि प्राथमिकतामा राखेका हौं ।’
कन्सर्ट स्थानीय समयअनुसार साढे ४ बजे सुरु हुने र कन्सर्टका लागि टिकटदर ५० र १०० दिराम राखिएको आयोजकले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४