बुटवल– नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपाभित्रको अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्।
उनले बहालवाला प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि राजनीतिक प्रस्तावका रुपमा अभियोगपत्र ल्याएपछि नेकपाभित्र अन्तरसंघर्ष चर्किएको सुनाए।
नेकपा एमाले बुटवल उपमहानगरले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले पार्टीभित्रको अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन्।
एमालेका अधिकांश नेताहरुले विकल्प नै नभएर प्रतिनिधिसभा विघटन गरेको बताउने गरे पनि ओली निकटका नेता पोखरेलले भने नेकपाभित्रको अन्तरविरोधको रिस संसद् विघटनमा पोखिएको संकेत गरेका हुन्। ‘नेकपाभित्र अन्तरसंघर्ष हुँदैनथ्यो भने वहालवाला प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन किन गर्थ्यो, गर्ने कुरै हुँदैनथ्यो,’ नेता पोखरेलले भने। उनले तत्त्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड नै भएको आरोप लगाए।
‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरु हुन्,’ उनले भने । उनले प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रुपमा विभाजनको मूल कारक रहेको बताए। ‘आन्दोलनकारी, अभियन्ता जस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पुराना नेताहरु पाखा लाग्नुभएको रहेछ,’ उनले भने ।
उनले नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै केपी ओलीलाई एकताविरोधी बनाउन खोजिएको बताए। अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमा समेत प्रचण्ड लागेको नेता पोखरेलको आरोप छ। उनले माधव कुमार नेपालले एमालेलाई १५ वर्षसम्म एकल नेतृत्व गरेको बताउँदै त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सृजना भएको बताए। उनले प्रचण्डसँग मिलेर माधव नेपालले केपी ओलीलाई राजनीतिक रुपमा विस्थापन गर्न खोज्नु नै कम्युनिष्ट आन्दोलनको दुर्भाग्य भएको बताए।