काठमाडौं– कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ।
२०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तिया एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एल्बमका साथ सांगीतिक क्षेत्रमा सक्रिए भएको छ। समूहले केही दिनमै चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ स्रोतामाझ ल्याउने भएको हो।
सिजन्स ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन्। चलचित्रको पाश्र्व गायन तथा पृष्ठभूमि संगीत निर्माण व्यस्त भैरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो। सुजिल यो समूहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन्।
समूहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान। उनी पनि गायन र रिदममा आवद्ध छन्। अर्का सदस्य चन्द्र लामा समूहका गायक तथा ड्रमर हुन्। चलचित्रका गीतहरुमा संगीत संयोजन तथा पृष्ठभूमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन्। संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन्। उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन्।
विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीत हुन्। समूहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो।
सिजन अर्थात ऋतु। समूहले आफ्ना सिर्जनालाई ऋतु झैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ। जस अनुसार संगीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरुप स्थापना भएको सिजन्स ब्याण्डले करिव डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसंगै संगीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ। ब्याण्डको नया एल्बमका गीतहरुमा आध्यात्मिक भाव पाउन सकिन्छ।
ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर शनिवार चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण...’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४