काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष समेत रहेका गीतकार कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’को लोकार्पण भएको छ।
शनिबार राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाले संयुक्तरूपमा गीतिसंग्रहको विमोचन गरेका थिए।
गीतिसंग्रहको शिर्ष गीतको रुपमा रहेको ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भर्इ सार्वजनिक गरिएको छ। संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतकार थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ।
कार्यक्रममा बोल्दै गीतकार थापाले विभिन्न सातवटा भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा प्रसन्नता व्यक्त गर्दै यसबाट सांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सके आफूलाई सन्तोष मिल्ने उल्लेख गरे। श्रष्टाहरु रोयल्टीको मारमा परिरहेको अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले नेपाली गीत संगीतको समग्र विकासका लागि आफू सदैव चिन्तित रहेको उल्लेख गरे।
राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भुवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बम समेत लोकार्पण गरिएको छ। यसैगरी जहाँ छन् बुद्धका आँखा लगायत कैयन गीतका गीतकार डा. बमबहादुर थापा जितालीलाई सम्मान समेत गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४