आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको मूलधार देउवा नेतृत्वको महाधिवेशन नै हो : डा. प्रकाशशरण महत

कांग्रेसको मूलधार देउवा नेतृत्वको महाधिवेशन नै हो : डा. प्रकाशशरण महत

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

सुर्खेत। नेपाली कांग्रेसका प्रवक्ता एवं १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शेरबहादुर देउवाको नेतृत्वमा हुने महाधिवेशनबाट आउने नेतृत्व नै पार्टीको आधिकारिक मूलधार हुने बताएका छन्।

Machhapuchchhre

नेपाली कांग्रेस कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले केही व्यक्तिको तीव्र महत्त्वाकाङ्क्षाका कारण पार्टीमा दुईवटा अधिवेशन हुने अवस्था सिर्जना भएको आरोप लगाए। पार्टी सभापतिले वैशाखबाट प्रक्रिया सुरु गरी जेठमा अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दागर्दै विशेष महाधिवेशनमा जानुको पछाडि ठूलो षड्यन्त्र रहेको उनको दाबी थियो।

‘केही व्यक्तिहरूको तीव्र महत्त्वाकाङ्क्षाका कारण यो पार्टीलाई बलिबेदीमा होम्ने काम भयो। महत्त्वाकाङ्क्षाको अगाडि विचार र सिद्धान्तलाई तिलाञ्जली दिने काम भयो,’ उनले भने।

महतले देउवाको नेतृत्वमा हुने महाधिवेशनबाट आउने नेतृत्व नै नेपाली कांग्रेसको मूलधार हुने दाबी गर्दै विशेष महाधिवेशनमा सहभागी भएका नेता–कार्यकर्तालाई मूलधारमा फर्किन आग्रह गरे।

‘नेपाली कांग्रेसको आत्मा खोसिएको छ, अहिले उहाँहरूसँग शरीर मात्र छ, आत्मा छैन। त्यो आत्मालाई हामी शरीरमा स्थापित गर्नेछौँ र नेपाली कांग्रेसलाई मजबुत बनाउनेछौँ,’ उनले भने।

उनले कांग्रेसलाई कमजोर बनाएर राष्ट्रियता र लोकतन्त्रलाई कमजोर पार्ने प्रयास सफल हुन नदिने पनि बताए। नेता–कार्यकर्तालाई गाउँगाउँमा पुगेर सङ्गठन विस्तार गर्न र आत्मविश्वासका साथ जनतामाझ जान उनले आग्रह गरे।

मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनबाट आउने नेतृत्व नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको सन्देश जनतामाझ स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

महतले राष्ट्रियता बलियो बनाउन धर्म, संस्कृति र सभ्यताको संरक्षण आवश्यक रहेको पनि बताए। हिमाल, पहाड र तराईलाई जोड्ने आधार नेपाली मौलिक धर्म तथा संस्कृति भएको उल्लेख गर्दै उनले हिन्दू, बौद्ध, किरातलगायत प्राचीन धार्मिक तथा सांस्कृतिक परम्पराले मुलुकलाई एकताबद्ध बनाएको धारणा राखे।

संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गरे पनि सनातन धर्म र संस्कृतिको संरक्षण संविधानमा व्यवस्था गरेर मात्र सम्भव नहुने उनको भनाइ थियो। यसलाई जनस्तरमा अभियानका रूपमा अघि बढाउनुपर्ने उनले बताए।

आफ्ना पुर्खा कालीकोटबाट पूर्वतर्फ गएको स्मरण गर्दै महतले कर्णालीसँग आफ्नो पारिवारिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताए।

‘कर्णाली मेरो पनि उद्गमस्थल, पुर्खाको उद्गमस्थल हो भन्दा मलाई गर्व हुन्छ,’ उनले भने।

कर्णाली प्रदेश विकासको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यो प्रदेश अग्रणी र समृद्ध प्रदेशका रूपमा विकसित हुने विश्वास व्यक्त गरे। त्यसको आधार नेपाली कांग्रेसले तयार गरिरहेको उनले बताए।

प्रकाशित: Nov 29, 2026| 17:30 आइतबार, मंसिर १३, २०८३