सुर्खेत । नेपाली कांग्रेस नियमित १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् ।
आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा. कोइरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टीप्पणी गर्न जरुरी नरहेको बताएका डा. कोइरालाले मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैँलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको प्रष्ट पारे।
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका उनले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो। यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस्। मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैँलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ।’
कांग्रेसमा जबरजस्त आफैँलाई सभापति घोषणा गर्नु संयोग मात्रै नभएको जिकिर गर्दै डा. कोइरालाले यी घटनामा अनेकन प्रपञ्च थिए भन्ने पनि प्रष्ट रहेको बताए। ‘यो संयोग मात्र थिएन, यसमा अनेकन प्रपञ्च थिए भन्ने प्रष्ट छ। विधि, विधान, पद्धति र स्थापित मूल्यमान्यता विपरित गरिएका षड्यन्त्र देशका लागि र पार्टीका लागि घातक हुन्। अहिलेलाई म यति मात्र भन्न चाहन्छु,’ उनले भने।
यही मंसीर २१ गतेदेखि हुन लागेको १५ औं महाधिवेशनलाई नेपाली कांग्रेसको इतिहासको नयाँ आयामको रुपमा लिएको जनाउँदै उनले कर्णाली सहितका हरेका प्रदेशका नागरिकका समस्यालाई राष्ट्रिय एजेण्डाका रुपमा स्थापित गर्ने पार्टीको भावी कार्ययोजना र नीति रहेको बताए।