काठमाडौं- राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालको सहकारी अभियानलाई अब उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र प्रविधिको प्रयोगसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।
सहकारी क्षेत्रलाई परम्परागत बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उद्योग, व्यवसाय र रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा अध्यक्ष पोखरेलले पछिल्लो समय सहकारी क्षेत्रमा केही वित्तीय समस्या देखिए पनि समग्र अभियान विस्तार र विकासको दिशामा अघि बढिरहेको दाबी गरे।
उनका अनुसार सहकारी संस्थामा देखिएको तरलता तथा वित्तीय परिचालनको समस्याका कारण कतिपय सदस्यले आफूले जम्मा गरेको बचत फिर्ता पाउन सकेका छैनन्। यस समस्याको समाधानका लागि सरकार र सहकारी अभियान दुवै पक्ष सक्रिय रहेको उनले बताए।
उनले भने, ‘सहकारी अभियानलाई अब बचत तथा ऋण कारोबारमा मात्र सीमित राख्नु हुँदैन। यसलाई उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र नयाँ प्रविधिको प्रयोगसँग जोडेर अगाडि बढाउनुपर्छ। सहकारी क्षेत्रबाट उद्योग, व्यवसाय सञ्चालन र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ। पछिल्लो समय केही सहकारी संस्थामा वित्तीय परिचालनको समस्या देखिए पनि समग्र सहकारी अभियान विस्तार भइरहेको छ। बचतकर्ताको रकम फिर्ताका लागि सरकार र सहकारी अभियान दुवै मिलेर काम गरिरहेका छन्। समस्याको समाधान गर्दै सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्पादनमुखी बनाउनु अहिलेको आवश्यकता हो।’
बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले संयन्त्र निर्माण गरेको र त्यसमा सहकारी अभियानको समेत प्रतिनिधित्व रहेको पोखरेलले भनाई छ। उक्त संयन्त्रमार्फत बचत फिर्ताको प्रक्रिया छिटो र प्रभावकारी बनाउन पहल भइरहेको उनको भनाइ छ। केही सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन थालेको र अन्य संस्थाका बचतकर्ताले पनि क्रमशः भुक्तानी पाउने प्रक्रिया अघि बढिरहेको उनले उल्लेख गरे।
उनले भने, ‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले एउटा संयन्त्र निर्माण गरेको छ। त्यसमा सहकारी अभियानको तर्फबाट पनि प्रतिनिधित्व गराइएको छ। हामी सकेसम्म छिटो बचत फिर्ता गराउन आवश्यक पहल र काम गरिरहेका छौँ। केही सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता पाउनुभएको छ भने अन्य संस्थाका बचतकर्ताले पनि क्रमशः भुक्तानी पाउने प्रक्रिया अघि बढिरहेको छ।’
सहकारी क्षेत्रमा समस्या देखिएपनि यसको समग्र आकार र सदस्य सहभागिता भने बढिरहेको पोखरेलको दाबी छ। विगतमा करिब ३० हजार सहकारी संस्था रहेको बताइने गरेकामा अहिले सरकारी तथ्याङ्कअनुसार करिब ३२ हजार संस्था सञ्चालनमा रहेको उनले बताए। त्यस्तै, सहकारी क्षेत्रको कारोबार एकल अङ्कबाट दोहोरो अङ्कमा पुगेको र सदस्य सङ्ख्या पनि ७४–७५ लाखबाट बढेर करिब एक करोड नौं लाख पुगेको उनको भनाइ छ।
उनले भने, ‘यतिबेला संख्यात्मक रूपले विगतमा करिब ३० हजार भन्थ्यौँ, अहिले करिब ३२ हजार संस्थाहरू भनेर सरकारले नै डाटा सार्वजनिक गरेको छ। विगतमा कारोबारलाई पनि एउटा सिङ्गल डिजिटमा भन्ने गथ्र्यौँ, अहिले डबल डिजिटमा कारोबार पुगेको स्थिति छ। अनि त्यस सदस्य सहभागितामा पनि पहिले विगतमा ७४–७५ लाख भनेर भन्थ्यौँ, अहिले १ करोड ९ लाख करिब सदस्यहरू आबद्ध भएका छन्।’
यी तथ्याङ्कले सहकारी अभियानको विस्तार र विकास भइरहेको देखाउने उल्लेख गर्दै उनले अहिले देखिएका समस्यालाई समाधान गर्दै सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्तअनुसार अभियानलाई अगाडि बढाउनुपर्ने बताए।
बचत तथा ऋणभन्दा उत्पादन र उद्यमशीलतामा जोड
अध्यक्ष पोखरेलका अनुसार सहकारी अभियानले विगतमा संगठन निर्माण र पुँजी सङ्कलनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अब भने त्यसलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने समय आएको बताए।
उनले सहकारी क्षेत्रले मुख्यतः तीनवटा विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। जसमा उद्यमशीलता तथा उत्पादन, नवप्रवर्तन तथा नयाँ प्रविधिको प्रयोग र युवा सहभागिता मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले भने, ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थासँग स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ। तर सहकारीको वास्तविक सम्भावना उत्पादन, उद्योग र व्यवसायमा लगानी विस्तार गर्नुमा रहेको छ।’
यसका लागि अन्तर्राष्ट्रिय अभ्यासबाट पनि सिक्न सकिने उनको धारणा छ। भारतको अमूल दुग्ध उद्योग, मल उद्योग तथा विभिन्न चिनी उद्योग सहकारी क्षेत्रको सफलताको उदाहरण रहेको उनले बताए। त्यस्तै, नेदरल्याण्डको राबो बैंक, इजरायलको कृषि क्षेत्र र जापानको सहकारीमार्फत भएको बहुआयामिक विकासबाट नेपालले सिक्न सक्ने उनले उल्लेख गरे।
उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा भारतको अमूल दुग्ध उद्योग, इफको मल उद्योग तथा ठूला चिनी उद्योगहरू सहकारीमार्फत सञ्चालन भइरहेका छन्। त्यस्तै, नेदरल्याण्डको राबो बैंक, इजरायलको कृषि क्षेत्र र जापानको सहकारी अभियानबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौँ। यी देशका सफल अभ्यासलाई आत्मसात गर्दै नेपालले पनि सहकारी क्षेत्रलाई उत्पादन, उद्योग र उद्यमशीलतासँग जोडेर अगाडि बढाउनुपर्छ।’
नेपालको सहकारी क्षेत्रले पनि यस्ता सफल अभ्यासलाई आत्मसात गर्दै उत्पादन, प्रविधि र उद्यमशीलतामा आधारित आर्थिक गतिविधि विस्तार गर्नुपर्ने उनको भनाइ छ। सहकारीमा पारदर्शिता कायम गर्दै नयाँ प्रविधिको उपयोग र युवाको सक्रिय सहभागिता बढाउन सके यस क्षेत्रले मुलुकको आर्थिक विकासमा थप योगदान पु¥याउन सक्ने उनले बताए।
सहकारीमैत्री कानुनी आधार आवश्यक
सहकारीलाई उत्पादन, उद्योग, व्यवसाय र रोजगारी सिर्जनासँग जोड्न विद्यमान कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए। निजी क्षेत्रले उद्योग तथा व्यवसाय सञ्चालन गर्न पाउने कानुनी आधार सहकारी क्षेत्रले पनि पाउनुपर्ने उनको माग छ।
उनका अनुसार सहकारी अभियानले सरकारसमक्ष सहकारीसँग अन्तरसम्बन्धित करिब ४६ वटा ऐन संशोधन गर्नुपर्ने विषय उठाउँदै आएको छ। सहकारी संस्थाले आफ्नै पहलमा उद्योग सञ्चालन गर्न, विद्यालय स्थापना गर्न, यातायात तथा पर्यटन क्षेत्रमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था हुनुपर्ने उनले बताए।
त्यसैगरी, सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त लगानीमा उद्योग तथा व्यवसाय सञ्चालन र रोजगारी सिर्जना गर्न सकिने वातावरण बनाउनुपर्ने उनको धारणा छ। यसले संविधानले परिकल्पना गरेको तीन खम्बे अर्थनीतिलाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए।
सरकार सहकारीसम्बन्धी दुईवटा ऐन निर्माणको तयारीमा रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै पोखरेलले ऐन निर्माणका विषयमा सहकारी अभियानसँग छलफल भइरहेको बताए। नयाँ ऐनमा सहकारी क्षेत्रका आवश्यकता र सम्भावनालाई सम्बोधन गरिनुपर्ने उनको अपेक्षा छ।
स्वायत्तता कायम राख्दै प्रभावकारी नियमन गर्नुपर्ने
सहकारी क्षेत्रको विकासका लागि सरकारले प्रवद्र्धनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिए। सहकारीको आफ्नै दर्शन, मूल्य, मान्यता र सिद्धान्त भएकाले यसको स्वायत्तता कमजोर पार्ने गरी नीति तथा कानुन निर्माण गर्न नहुने उनले बताए।
यद्यपि, बचतकर्ताको रकम सुरक्षित गर्ने र समस्याग्रस्त संस्थाबाट बचत फिर्ता गराउने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। यसका लागि प्रभावकारी संयन्त्र निर्माण गरी बचतकर्ताको रकम फिर्तालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
सरकार र सहकारी अभियानबीच सहकार्यको अपेक्षा
अध्यक्ष पोखरेलले पछिल्लो समय सरकार र सहकारी अभियानबीच संवाद तथा सहकार्यको वातावरण विकास हुन थालेको बताएका छन्। यसअघि सहकारी क्षेत्र सरकारी प्राथमिकतामा अपेक्षाकृत कम परेको महसुस भएपनि पछिल्ला दिनमा सम्बन्धित मन्त्री तथा मन्त्रालयले सहकारी अभियानसँग छलफल र सहकार्यलाई प्राथमिकता दिन थालेको उनले बताए।
सहकारी अभियानका सुझाव र समस्या सम्बोधन गर्न सरकार सकारात्मक देखिएको उल्लेख गर्दै उनले यसले आगामी दिनमा सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सहकारी अभियानले पनि सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार, कानुन कार्यान्वयन र संस्थागत विकासमा योगदान पुर्याउने उनको भनाइ छ।
तीन खम्बे अर्थनीतिको महत्वपूर्ण आधारका रूपमा रहेको सहकारी क्षेत्रलाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिसँग जोड्न राज्यको सहयोग र अभियानको सक्रियता दुवै आवश्यक रहेको उनले बताए।
समग्रमा, सहकारी क्षेत्रले अहिलेको वित्तीय चुनौती समाधान गर्दै आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्ने समय आएको पोखरेलको निष्कर्ष छ। बचतकर्ताको विश्वास पुनःस्थापना, सुशासन र पारदर्शिता कायम तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सके सहकारी अभियान मुलुकको आर्थिक समृद्धिको बलियो आधार बन्न सक्ने उनको विश्वास छ।